प्रचार-प्रसारमा ‘ऐँचो पैँचो’

कृषा चौलागाईंले निर्देशन गरेको फिल्म ‘ऐंचो पैँचो’ आगामी भदौ १४ बाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । रिलिजको समय नजिकै गर्दा फिल्मको निर्माण टिम प्रचार-प्रसारमा भ्याइ नभ्याई देखिन थालेको छ ।

केही दिन अघि ‘ऐँचो पैँचो’को ‘काले केटाले’ गीत सार्वजनिक गरिएको थियो । उक्त गीत यति बेला चर्चाको केन्द्रमा छ । जसलाई युट्युबमा २१ लाख १५ हजार ५ सय भन्दा बढीले दर्शकले हेरिसकेका छन् । यो गीत रिलिज गरेपछि निर्माण टिमले टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर फिल्मको प्रचार सुरु गरेको थियो । 

फिल्मको टिम प्रचार यात्रा लिएर अहिले विभिन्न टेलिभिजन रियालिटी शोमा समेत पुगेको छ ।  फिल्मको टिम मंगलबार नेपालको सबैभन्दा ठुलो पुरस्कार राशि भएको 'मेरो डान्स युनिभर्स'को ग्राण्ड फिनाले एपिसोडमा पुगेको थियो । 

फिल्मको बारेमा सूचना फैलाउन फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता सुशील सिटौला एकसाथ फिनाले  शोमा पुगेका हुन् । जुन फाइनलको एपिसोड केही सातामा प्रसारण गरिने आयोजक संस्थाले बताएको छ । यस्तै, फिल्मको सफलताको लागि निर्देशक चौलागाई र निर्माता विशाल चौलागाई यही हप्ता मुम्बई पुगेर सिद्धिविनायक मन्दिरमा पुजा समेत गरेका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । 

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

तस्बिर सैजन्य: : सफल गनेजु