‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

फिल्ममा अभिनय गर्ने कलाकारहरुमध्ये निकै कमले मात्र फिल्म निर्देशनको हिम्मत गर्न सकेका छन् । फिल्म निर्देशन र अभिनय विल्कुलै फरक कुरा हो भन्ने धेरैले बुझेका छन् । यसैले त नायक राजेश हमालले चर्चा धेरै गरेर पनि फिल्म निर्देशन सुरु गर्न सकेका छैनन् । निखिल उप्रेतिले एउटै मात्र फिल्म निर्देशन गर्ने आँट गरे । भुवन केसीले पनि दोश्रो फिल्म निर्देशन गर्न सकेका छैनन् । 

लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका सफल नायक सरोज खनालले यो बर्ष फिल्म ‘बगान’ निर्देशन गरे । उनको डेब्यू निर्देशनमा बनेको यो फिल्मले हलमा दर्शकको राम्नै साथ पाइरहेको छ । 

समीक्षकबाट खराब प्रतिक्रिया पाएको फिल्मले पारिवारिक फिल्म रुचाउने दर्शकबाट साथ पाइरहँदा सरोजको डेब्यू निर्देशन कस्तो भयो भनेर चर्चा गर्ने उपयुक्त हुनेछ । 

यो फिल्मको निर्देशकीय पक्ष भन्दा पनि यसको क्लाइमेक्सको संवाद र कथावस्तुले केही हदसम्म दर्शकलाई छोएको हो । सरोजले यो फिल्मलाई फिल्मी स्टाइलले भन्दा पनि वृत्तचित्रको शैलीमा निर्देशन गरेका छन् । सामाजिक कथावस्तु भएकाले पनि यसलाई हेर्न दर्शक हलसम्म पुगेका हुन् । तर, सरोजले फिल्म निर्देशनमा आफूलाई निखार्न अझै ठूलो  मिहिनेत गर्नुपर्ने हुन्छ । एउटा कुरा सत्य के हो भने, सरोजले पहिलो निर्देशनमा नै समाजको एउटा गहन विषयलाई भन्ने हिम्मत गरेका हुन् । तर, उनको भन्ने शैली फितलो थियो । 

यसैले, अभिनयमा उनले जुन शक्ति देखाउँछन्  निर्देशनमा अझै खारिन आवश्यक छ । फिल्मको बक्स अफिसको सफलताले सरोजको निर्देशनले पूर्णता पायो भन्न सकिँदैन ।