फिल्म जुलेबी: दर्शककालागि फरक स्वाद भनेर यौन बेच्न खोज्दा गलत पो हुने होकी ?

पछिल्लो समय नेपाली फिल्म हेर्ने दर्शक भड्किएका हुन् वा कुनै पनि फिल्म राम्रो नभएको हो भन्ने कुराको भेउ फिल्मीकर्मीले पनि पाएका छैनन् । दर्शक हल पुगेर टिकट किन्न रुची देखाइरहेका छैनन् । अहिले त हलमा फिल्म आएको समेत दर्शकले थाहा पाउन छाडेका छन् । 

आगामी भदौको १ गतेबाट दुई नयाँ नेपाली फिल्म ‘हिड्दा हिड्दै र जुलेबी’ प्रदर्शन हुने तयारीमा छन् । यी दुबै फिल्म हलमा रिलिज हुन त लागेका छन् तर यसका कलाकारहरुले आजसम्म फिल्मको बारेमा केही बोलेको सुनिएको छैन । दर्शकसम्म फिल्मको बारेमा राम्रोसँग जानकारी पुगेन भने फिल्मले २ दिनमै दम तोडेका उदाहरण धेरै छन् । तर, नेपालका अधिकांश मेकर फिल्म बनाउने बेलामा जसरी कस्सिन्छन्, फिल्म रिलिजको समयमा सुस्ताउछन् ।

फिल्मका केही प्रचार सामाग्री सार्वजनिक गर्नु बाहेक निर्माणपक्षले पनि प्रचारका लागि कुनै त्यस्तो नयाँ तरिका अपनाएको छैन । एन्थोलोजी जनरामा बनेको फिल्म जुलेबी यौन मनोविज्ञानमा आधारित छ। यसको निमार्ण टिमले केही हदसम्म फिल्म फरक रहेको बताइरहेको छ । 

फिल्मका लेखक तथा निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेको यो फिल्म पात्रहरुलाई रत्नपार्क जोड्ने र यौन मनोविज्ञानमा केन्द्रीत रहेको छ । फिल्मको कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ। उनले भनेका छन्, ‘फिल्म मेरो आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो।’

सार्वजनिक भएका साम्रग्री हेर्दा भिन्न पात्र र उनीहरुको यौन संवेग र चाहनालाई चित्रण गरिएको देख्न सकिन्छ । यस फिल्मकी मुख्य अभिनेत्री सुरक्षा पन्त फिल्ममा यौनकर्मी बनेको झलक देख्न सकिन्छ । जसबाट निमार्ण टिमले राम्रो प्रतिक्रिया पाइरहेकाले दंग छ। त्यसो त, यो फिल्मको सेन्सर हुन पनि बाँकी रहेको छ ।

अहिले समर्वजनिक भइरहेका फिल्मका कथा भन्दा फरक बिषयमा बनेको फिल्मले दर्शकको स्वाद फेर्न सकछ त ? तर यौन बेच्न खोज्दा गलत पो हुने होकी ? यो कुराको निर्णय त दर्शकले नै गर्लान् ? तर, दर्शकले फिल्मको बारेमा थाहा नपाइरहेको समयमा यति सुस्त प्रचारले केही फाइदा होला र ?