विना प्रचार हलमा फिल्म लगाउँदा अदृश्यले दम तोड्दै

साउनको १९ गतेबाट रिलिजमा आएको फिल्म ‘अदृश्य’ले निकै नै कमजोर व्यापार बक्स अफिसमा गरेको छ । यो फिल्म हलमा आएको दर्शकले राम्रोसँग थाहा नै पाएनन् । कारण थियो, फितलो प्रचार । 

यो फिल्मको शुक्रबार र शनिबारको कमाई हेर्दा ५० हजार पुर्याउन पनि मुस्किल परिरहेको छ । शुक्रबार र शनिबारको अवस्था के छ भनेर मेरोफिल्मले नयाँ वानेश्वरस्थित आइप्लेक्सको वान सिनेमाजमा बुझ्दा एकजना मात्र दर्शक आएर शो क्यान्सिल गर्नु परेको थियो भने अन्य खुलाइएका शोमा दर्शक नै नआएर दुई दिनकै शो रद्ध गर्नु परेको सिनेमाजका महाप्रबन्धक उमेशराज गिरीले जानकारी दिए ।

फिल्म रिलिजको समयमा निर्मातासँग आर्थिक अभाव हुँदा धेरै फिल्म समस्यामा पर्छन् । ब्रान्ड बनाएका केही व्यानर र फिल्मकर्मीको फिल्मभन्दा बाहेक अरुका लागि चर्को प्रचारको आवश्यकता पर्छ । तर, फिल्म रिलिजको समयमा निर्माता टाट पल्टिसक्ने अवस्था आउँदा हलमा रिलिज गर्नु नै ठूलो कुरा हुन पुग्छ । जसको प्रत्यक्ष असर फिल्मको व्यापारमा पर्छ । 

भदौको १ गतेबाट रिलिज हुन लागेका २ फिल्म ‘हिड्दा हिड्दै र जुलेबी’को अवस्था पनि यस्तै छ । यी दुबै फिल्म हलमा रिलिज हुन त लागेका छन् तर यसका कलाकारहरुले आजसम्म फिल्मको बारेमा केही बोलेको सुनिएको छैन । फिल्मका केही प्रचार सामाग्री सार्वजनिक गर्नु बाहेक निर्माणपक्षले पनि प्रचारका लागि कुनै त्यस्तो नयाँ तरिका अपनाएको छैन । 

दर्शकसम्म फिल्मको बारेमा राम्रोसँग जानकारी पुगेन भने फिल्मले २ दिनमै दम तोडेका उदाहरण धेरै छन् । यसैले, फिल्म रिलिजको समयमा निर्माताले चरम आर्थिक अभाव भोग्दा फिल्मको प्रचार नै ओझेलमा पर्ने गरेको छ । जसको प्रत्यक्ष असर फिल्मको व्यापारमा पर्ने गरेको छ । 

फिल्म मेकिङ र त्यसलाई गरिने प्रमोशनको बिषयमा पनि मेकरलाई राम्रो जानकारी हुन आवश्यक छ । यसका लागि फिल्म निर्माणको सुरुवातमै योजना बनाएको खण्डमा रिलिजको समयमा ठूलो समस्या आइपर्दैन । तर, नेपालका अधिकांश मेकर फिल्म बनाउने बेलामा जसरी कस्सिन्छन्, फिल्म रिलिजको समयमा सुस्ताउछन् । अन्तिममा, उनीहरुको सपना भनेको फिल्म हलसम्म ल्याउनु मात्र हुन्छ । जसले, फिल्मको व्यापारमा कुनै फाइदा भएको पाइदैन ।