राम्रा फिल्म नपाउँदा रिस्ता जहिले असफल

गतबर्ष सार्वजनिक भएको फिल्म ‘पासो’का लागि नायिका रिस्ता बस्नेतले खुबै मिहिनेत गरेकी थिइन् । यो फिल्मको धेरै दृश्यमा उनी एउटा बक्सा भित्र थुनिएको देख्न सकिन्छ । यो फिल्मका लागि ज्वरो आउँदा समेत काम गरेकी रिस्ता दर्शकले नै यो फिल्म नहेरेपछि समस्यामा परिन् ।

किनकी, कुनै पनि फिल्म जब दर्शकसम्म पुगेर दर्शकले नै हेर्दैनन्, त्यसपछि सफल हुन सक्दैन । फेरि, कलाकारका लागि दर्शकले नहेरे कामको मुल्यांकन पनि हुन सक्दैन । रिस्ताका लागि पनि यस्तै भयो । 

उनै, रिस्ताले यो बर्ष फिल्म ‘अदृश्य’मा काम गरिन् । फिल्ममा प्रमोद अग्रहरि, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका छ । तर, शुक्रबारबाट रिलिज भएको यो फिल्म दर्शकका लागि अदृश्य नै बन्न पुग्यो । फिल्म आएको र गएको नै दर्शकले पत्तो पाएनन् । जसकाकारण, रिस्ताका लागि बक्स अफिस सफलता आकाशको फल जस्तै भएको छ । 

रिस्ताले सुरुवातमा त ‘होस्टेल’ जस्तो फिल्म पाएकी थिइन् । तर, यसपछि गतिला फिल्म नपाउँदा उनको करिअर पनि सुखद मोडमा अगाडि बढ्न सकेको छै्रन ।