आप्पा निर्देशक अनमोलविरुद्ध आर्थिक हिनामिनाको उजुरी
फिल्म ‘आप्पा’ फेम्ड निर्देशक तथा गायक अनमोल गुरुङविरुद्ध सिक्किममा उजुरी परेको छ । सिक्किमकी सुष्मा गुरुङले फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’बाट भारतीय एक करोड रुपैंयाँ हिनामिना गरेको भन्दै निर्देशक तथा गायक अनमोलविरुद्ध उजुरी दिएकी हुन् ।
अनमोलविरुद्ध आइपिसी १८६० को धारा ४०३, ४०६ र ४२० अन्तर्गत उजुरी दर्ता भएको छ । उजुरी परेपछि अनमोलले लण्डनको सिग्नेचर म्यूजिक फेस्टिभलमा फिल्मको प्रदर्शन बाँकी रहेको भन्दै अग्रिम जमानतको निवेदन दिएका छन् । भारतमा कलाकारलाई उजुरी परे पनि जमानतका लागि कलाकारले निवेदन दिन पाउने नियम छ ।
सुष्मा र अनमोलले विभिन्न स्मरणीय प्रोजेक्टमा सहकार्य गरिसकेका छन् । तर फिल्म ‘कबड्डी ४’मा आएर भने उनीहरुबीच आर्थिक कारण सम्बन्धमा खटपट आएको हो ।
रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ले नेपाली घरेलु बक्सअफिसको ग्रस कलेक्सन ३३ करोड हाराहारीमा व्यापार गरेको थियो । यसले विदेशमा नेपाली फिल्मको इतिहासमा ठूलो व्यापार गर्न सफल भएको थियो । बासुरी फिल्मस्को ब्यानरमा निमार्ण गरिएको यो फिल्म २०७९ जेठ १३ का दिन प्रदर्शनमा आएको थियो ।
'कबड्डी' को चौंथो शृङ्खला 'कबड्डी ४' ले नेपाली बक्सअफिसमा प्रदर्शनमा आएको पहिलो दिनमै कीर्तिमान कायम गरेको थियो। देशभरीमा करिव डेढ सय हलबाट एकैसाथ प्रदर्शनमा आएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमाउन सफल भएको थियो। यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको पहिलोदिनको व्यावसायिक कीर्तिमान हो।
फिल्मले बक्सअफिसमा डेढकरोड रुपैयाँभन्दा बढी अग्रिम टिकट बिक्रीको अर्को कीर्तिमान समेत राखेको थियो। यो फिल्ममा सुष्माको पनि लगानी थियो । अनमोलले चाहिँ आफ्नो व्यानर माउन्टेन स्टोरिज इन्टरटेनमेन्टमार्फत फिल्मलाई भारतमा वितरणको जिम्मा लिएका थिए ।
खासगरि, फिल्मकी अभिनेत्री मिरुना मगरलाई दुर्ववहार गरेको आरोपमा उनले फुर्वा लामा नामक एकजना भिक्षुलाई झापड हान्दै सबैका सामु माफ माग्न लगाएकी थिइन् भने उनले भिक्षुलाई प्रहरीको जिम्मा समेत लगाएकी थिइन् जसले एउटा विवाद उत्पन्न गरेको थियो।
कबड्डी ४ को जुन विवाद छिमेकी मुलुक भारतसम्म पुगेको थियो। नेपाली विवाद सुरु भएपछि सिक्किमका बौद्ध भिक्षु तथा अन्य सङ्घसंस्थाहरूले कबब्डी ४ को प्रदर्शनमा रोक लगाउन माग गरेका थिए । जसको फलस्वरूप सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले आफ्नो आधिकारिक फेसबुक मार्फत फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। गोलेले विभिन्न सङ्घसंस्थाहरुको भावनाको कदर गर्दै विवाद नसुल्झिँदासम्म चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएका थिए।
विना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूको एक समूहले ठूलो सङ्ख्यामा प्रदर्शन र नारावाजी गरेका थिए। लामालाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न सङ्घ संस्थाले छलफल समेत गरेका थिए जसको फलस्वरूप जेठ १७ गतेका दिन दुई पक्षबीच मिलापत्रमा हस्ताक्षर भएपछि लामालाई ३ हजार धरौटीमा रिहा गरिएको थियो। त्यस पछिमात्र यो फिल्म भारतमा प्रदर्शन भएको हो ।
प्रतिक्रिया