ऐंचो पैचोबाट मुकुन भुषाल कति आशावादी ?
कृषा चौलागाईले निर्देशन गरेको फिल्म ‘ऐंचो पैचो’ आगामी भदौ १४ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । यो फिल्मको मुख्य भूमिकामा अभिनेता मुकुन भुषाल छन् ।
फिल्म ‘बुलबुल’बाट उदाएका मुकुनले त्यस यता कम मात्र फिल्ममा अभिनय गरेका छन्, तर जति अभिनय गरेका छन्, उनको अभिनय क्षमता दमदार नै छ । उनको अभिनयलाई फिल्मकर्मीले पनि नजिकबाट बुझ्ने गरेका छन् ।
फिल्म ‘ऐंचो पैचो’मा मुकुनले अभिनेत्री स्वस्तिमा खड्कासँग सहकार्य गरेका छन् । यो जोडी त्यही हो, जुन ‘बुलबुल’मा थिए । ‘बुलबुल’मा स्वस्तिमा र आफ्नो जोडीलाई धेरैले रुचाएको बुझाई मुकुनको छ ।
यही जोडी ‘ऐंचो पैचो’मा देखिँदै गर्दा मुकुन भन्छन्, ‘स्वस्तिमासँग मेरो दोस्रो सहकार्य हो । फिल्मको कथावस्तु फरक छ । बुलबुलमा जुन हिसाबले दर्शकले मनपराउनुभएको छ, ऐंचो पैचोमा अलिक फरक हिसाबले दर्शकले मनपराउन सक्नुहुन्छ । किनकी फिल्म अनुसार चरित्र पनि फरक हुन्छ’, मुकुन भन्छन् ।
मुकुन कृषाको कामबाट प्रभावित छन् । उनको बुझाईमा लामो समयको मेहनतपछि कृषा फिल्ममा स्थापित भएकाले उनको मेहनत दर्शकले फिल्ममा हेर्न पाउने दाबी मुकुन गर्छन् ।
‘फिल्मसँग व्यवसाय, कथा, अभिनय, प्राविधिक पक्ष, निर्देशकीय पक्षलगायतका कुरा जोडिन्छन् । तर दर्शकका लागि चासो भनेको कथा र अभिनय नै हो । त्यो मामलामा ऐंचो पैचो अब्बल छ भन्नेमा म ढुक्क छु’, मुकुन भन्छन् ।
यसैबीच फिल्मले प्रचारप्रसारको सुरुवात गरेको छ । गत बुधबार फिल्मको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर फिल्मको प्रचार गरेको थियो ।
प्रचारमा अभिनेता सुशिल सिटौला, अभिनेता राजाराम पौडल र अभिनेत्री शारदा गिरी ‘काली बुढी’ कलेज पुगेका थिए । उनीहरुले फिल्मको गीत ‘काले केटाले’मा नृत्यसमेत गरेका थिए ।
केपी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया