निर्माता रामप्रसाद रिजाललाई कसरी विश्वास गर्ने ?

आगामी भदौ १४ गतेबाट रिलिज हुने फिल्म ‘गणपति’बाट निर्माता रामप्रसाद रिजाल आशावादी रहेको बताउदैछन् । उनै निर्माताको यसअघि रिलिज भएको फिल्म ‘डिसेम्बर फल्स’बाट पनि उनको कुरा पत्याउन गाह्रै छ ।

उनले त्यसबेला ‘डिसेम्बर फल्स’ जतिको फिल्म कुनै नबनेको झैं गरी रिलिज अगावै ९ करोड कमाउने दाबी पनि गर्न भ्याएका थिए । यो फिल्मले न उनको भनाईलाई पुष्टि गर्यो, न त दर्शकलाई पत्याउने नै बनायो । 

यो फिल्मले अभिनेता आर्यन सिग्देलको कमव्याकलाई नराम्रोसँग पछार्यो । आर्यनका पुराना फिल्मको तुलनामा यो फिल्मको आम्दानी बिजोग जस्तै थियो । साथै अहिलेकी चलेकी नायिका भनिएकी उपासना सिंह ठकुरी पनि यो फिल्मसँगै सुनसान झैं बस्न बाध्य छिन् । उनी अहिले ‘हात्तीछाप’मा व्यस्त छिन् । आर्यन पनि नयाँ आउने फिल्म ‘सञ्जिवनी’ गर्ने तयारीमा जुटेका छन् ।

यता निर्माता रिजालले यसअघिका निर्माताबाट फिल्मको अधिकार लिँदै ‘गणपति’मा भित्रिएका हुन् । त्यसो त निर्माता रिजालले निर्माण गरेका यसअघिका फिल्म ‘धुँवा यो नशा’, ‘कायरा’ले सफलता पाएको छैन । यी फिल्ममा आर्यन सिग्देलकै अभिनय थियो । जसबाट लगभग आर्यनको करियर नै ओरालो लागेको भन्न सक्ने ठाउँ छ ।

निर्माता रिजालले आफूले ‘गणपति’ हेरेर उत्साहित भएपछि फिल्मको अधिकार खरिद गरेको दाबी गरेका छन् । उनले निर्देशक सबिन अधिकारीको तारिफ गर्दै फिल्मको कथा आफ्ना लागि ‘बेजोड’ भएको उल्लेख गरिरहेका छन् । भलै कथा उनलाई बेजोड लागे पनि दर्शकलाई कथा बेजोड लाग्छ या झुर लाग्छ त्यो त प्रदर्शनको दिन नै थाहा हुन्छ । 

उनको यो भनाई साबित हुन मुस्किल होइन, गाह्रै छ । यता फिल्मकै कलाकार मुकुन भुषालको सोही दिन अर्को फिल्म ‘ऐचो पैचो’ पनि रिलिज हुँदैछ । कलाकारबाट प्रचारप्रसारमा साथ पाउनलाई हम्मे हम्मे परेको बेलामा आफैं मैदानमा फिल्मको कथा बेजोड भन्दै प्रचारमा लागेको प्रष्टै देखिन्छ ।

फिल्म ‘गणपति’लाई बेजोडको नारा दिएर प्रचारप्रसार गरिरहँदा यो फिल्म पनि ‘डिसेम्बर फल्स’को ९ करोड कमाउने दाबी झैं ‘फिस्स’ त हुँदैन ।