वर्षामाथि रिजालको भर, ‘काजी’लाई नयाँ बर्षमा छैन डर
निर्माता रामप्रसाद रिजालले फिल्म ‘गणपति’ रिलिज नहुँदै नयाँ फिल्म ‘काजी’ निर्माणको घोषणा गरिसकेका छन् । लक्ष्मण रिजालले निर्देशन गर्ने यो फिल्मको छायांकन बेलायतमा हुनेछ । बेलायतको सेटिङमा हुन लागेको छायांकन ‘गणपति’ रिलिजपछि सुरु हुनेछ ।
यो फिल्ममा नायिका वर्षा सिवाकोटी फाइनल भैसकेकी छिन् । तर, फिल्मका लागि मुख्य नायक फाइनल गर्न बाँकी नै छ ।
फिल्म ‘काजी’को छायांकन नै सुरु नहुँदै निर्माता रिजालले प्रदर्शन मिति समेत तय गरेका छन् । यो फिल्मलाई चैत्रको ३० गते रिलिज गर्ने तयारी गरिएको छ । नयाँ बर्षको अवसर पारेर यो फिल्म रिलिज हुनेछ । उसो त, यो मितिमा अन्य फिल्म पनि रिलिज हुने पक्का छ । तर, आजको दिनसम्म नयाँ बर्ष लक्षित कुनै पनि फिल्म तय भएका छैनन् ।
निर्माता रिजालले नायिका वर्षा सिवाकोटीमाथि भर गरेको देखिन्छ । उनले, फिल्म ‘गणपति’को एउटा गीतमा मात्र वर्षालाई नृत्य गराएका थिए । अब, फिल्मको मुख्य नायिका नै बनाएका छन् ।
फिल्म ‘कामिनो’ नबन्ने भएपछि निराश बनेकी वर्षाका लागि रामप्रसादको ‘काजी’ले अनुहारमा मुस्कान छरेको छ ।
प्रतिक्रिया