बोर्डले फिल्मको कमाई सार्वजनिक गर्दा चलचित्र संघलाई टाउको दुखाई
चलचित्र विकास बोर्डले केही महिनादेखि नेपाली र विदेशी फिल्मको कमाई सार्वजनिक गरिरहेको छ । बोर्डले स्पष्ट रुपमा विकास बोर्डको सर्भरमा उपलब्ध कमाई सार्वजनिक गर्दा केही निर्मातालाई त टाउको दुखिरहेको थियो । अब, हलहरुको छाता संगठन चलचित्र संघलाई पनि बोर्डको यो कदमले टाउको दुखिरहेको छ ।
चलचित्र संघले विकास बोर्डलाई पत्र लेख्दै अर्काको धन सम्पत्तीको विवरण सार्वजनिक नमिल्ने बताएको छ । बोर्डलाई फिल्मको हिसाब सार्वजनिक नगर्न आग्रह गर्दै चलचित्र संघले पत्र काटेको अध्यक्ष भुवन केसीले मेरो फिल्मलाई जानकारी दिएका छन् ।
चलचित्र संघले अरुको कमाई सार्वजनिक गर्ने कार्य क्षेत्र विकास बोर्डको नरहेको भन्दै पत्र काटेको हो । चलचित्र संघले विकास बोर्डको जवाफ पर्खिएको छ । बोर्डको पत्रको आधारमा कानुनी उपचारमा जाने वा नजाने चलचित्र संघको भनाई छ ।
चलचित्र बिकास बोर्डले कलेक्शन र कर सबै सार्वजनिक गर्दा निर्माताहरुले फिल्मको वास्तविक आँकडा लुकाउन पाएका छैनन् । जसलेगर्दा, मिडियामा वास्तविक आँकडा आउँदा निर्माताहरुलाई टाउको दुखाईको बिषय बनिरहेको छ । अब, चलचित्र संघले भने अरुको हिसाब सार्वजनिक गर्न नमिल्ने तर्क अगाडि सारेको छ ।
प्रतिक्रिया