‘महाजात्रा’मा विपिनदेखि वर्षासम्म, कथामा घोत्लिदै प्रदीप


नेपाली फिल्मको पछिल्लो ट्रेन्ड हेर्ने हो भने, दर्शकले कलाकार भन्दा मेकरलाई बढी पत्याएका छन् । कलाकारको अनुहार मात्र हेरेर फिल्म बिक्ने अवस्था विस्तारै कम हुँदै गएको छ । 

राम्रो फिल्म बनाएर दर्शकमाझ पस्किएका मेकरका फिल्मले नै हलमा दर्शक पाएका छन् । गतबर्ष फिल्म ‘महापुरुष’ निर्देशन गरेर हिट फिल्मको श्रृङ्खलालाई निरन्तरता दिएका निर्देशक प्रदीप भट्टराई नयाँ फिल्मको तयारीमा जुटिरहेका छन् । उनी, फिल्म ‘महाजात्रा’ निर्देशन गर्ने तयारीमा छन् । 

यो फिल्मको कथा अझै फाइनल नभएको प्रदीपको भनाई छ । प्रदीपमाथि उत्कृष्ट फिल्मको चुनौती एकपछि अर्को फिल्मले थपिरहेको छ । यसैले, हिट फिल्म ‘जात्रा’को तेश्रो श्रृङ्खलालाई उत्कृष्ट बनाउनुपर्ने दबाब उनीमाथि छ । 

यो फिल्ममा ‘जात्रा र जात्रै जात्रा’का मुख्य कलाकारहरुले नै काम गर्नेछन् । नायक विपिन कार्की, नायिका वर्षा राउत फिल्ममा हुने निर्देशक भट्टराइले जानकारी गराए । उनले भने–‘कथा फाइनल नभएकाले कलाकार को हुने भन्ने बिषयमा यसै भन्न सकिदैन । तर, जात्रा र जात्रै जात्राका कलाकारलाई नै निरन्तरता दिन्छौं ।’