बसुन्धरा र चैत्यदेवीको सहकारीमा डुब्यो साढे २ करोड
सोमबार काठमाडौंको माइतीघर मण्डलामा सहकारीमा डुबेको पैसा उठ्नुपर्ने माग राख्दै नेपाली फिल्म क्षेत्रका २ नायिकाहरु १० घन्टे रिले अनसनमा बसे । नायिकाद्धय बसुन्धरा भुषाल र चैत्यदेवी धर्नामा बसेपछि मिडियामा समेत यसले चर्चा पायो ।
कलाकार भुषाले सिभिल सहकारीमा आफूहरुको साढे २ करोड डुबेको बताएकी छिन् । तर, यो सहकारीका संचालक इच्छाराज तामाङ भने यही कसुरमा जेलमा छन् ।
बसुन्धराका अनुसार, उनीसँगै चैत्यदेवी र छोरा बुहारीको गरेर २ करोड ६० लाख रुपैयाँ फसेको छ । तर, यत्रो पैसा सहकारीले डुबाउँदा पनि सरकारले केही नगरेको भन्दै उनले गुनासो पोखिन् ।
उनीहरुले अब साउनको १८ गते फेरि रिले अनसनमा बस्ने जनाएका छन् । नायिका भुषालका अनुसार, कानुनी लडाइका लागि उनीहरुलाई गाह्रो परेको छ । इच्छाराजले एक दर्जन वकिल राखेर बहस गर्ने गरेको तर आफूहरुले एक जना वकिल पनि राख्न गाह्रो हुने उनको भनाई थियो ।
चैत्यदेवी र बसुन्धरासहित उनीहरुको परिवारको १४ जना सदस्यले जम्मा गरेको २ करोड ६० लाख रुपैयाँ सहकारीमा फसेको छ । यस्तै, भुवन चैत्य बसुन्धरा फाउन्डेशनको नाममा रहेको १५ लाख रुपैयाँ समेत यही सहकारीका फसेको छ ।
प्रतिक्रिया