अन्यौलमै अल्झियो प्रदीप खड्काको करिअर !

गतबर्ष एउटा हिट फिल्म र एउटा फ्लप फिल्म दिएका नायक प्रदीप खड्काले यो बर्ष ‘कामिनो’ नामक फिल्ममा काम गर्ने पक्का भएको थियो । यो फिल्मका लागि प्रदीप र निर्देशक दीपक ओली फिलिपिन्ससम्म पुगे । फिल्मका लागि मेक्सिकोको भिजा लगाउने कोशिशमा दीपक र प्रदीपले एक महिना समय लगाए । तर, अब यो फिल्मको काम रोकिएको छ । 

फिल्मको टिमको भिसा नलागेपछि नेपाल फर्किएको टिमले काम अगाडि बढाउन सकेन । यसपछि, प्रदीपले दिनेश राउतको नयाँ फिल्ममा काम गर्ने चर्चा चल्यो । पल शाहसँग प्रदीपले नयाँ फिल्ममा काम गर्ने पक्का भएपनि अब यो फिल्मको निर्माण नै अन्यौलमा परेको छ । 

फिल्म ‘कामिनो’को लागि लोकेशन हेर्नु अगाडि नै प्रदीपले निर्देशक मुकुन्द भट्टको नयाँ फिल्म ‘एक्स ९’ साइन गरेका थिए । यो फिल्मको लागि प्रदीप र मुकुन्दले भारत पुगेर पूजा समेत गरेका थिए । 

तर, यो फिल्मको निर्माण पनि सुरु हुने छाँटकाँटमा छैन । मुकुन्दले अब नयाँ फिल्म ‘चोर पुलिस’को कामलाई थालनी गरेका छन् । 

प्रदीपका प्रिय निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म ‘प्रेमगीत ४’को टिजर खिचिसकेका छन् । तर, यो फिल्मको टिजर प्रदीप देखिने छैनन् । प्रदीपविना नै सन्तोषले फिल्मको टिजर खिचेर सार्वजनिक गर्ने तयारी गरेका छन् । यसले, प्रदीपलाई स्टार बनाएको फिल्मको चौथो सिरिजमा उनी हुने हुन् या होइनन् भन्ने अन्यौल समेत देखिएको छ । 

यसरीहेर्दा, साइन गरेका फिल्म नबन्ने अवस्थामा पुग्नु, नयाँ फिल्म साइन गर्न अलमलिनुले प्रदीप खड्काको करिअर अन्यौलमा देखिएको छ । प्रदीप खड्काले पनि अब करिअरलाई अगाडि बढाउनका लागि गम्भिर भएर सोच्नु पर्ने अवस्था आएको छ । उनीसँग काम गर्नका लागि अन्य थुप्रै निर्माता लालयित नभएका होइनन् । तर, प्रदीप सिमित व्यक्तिको भीडमा खुम्चिएको आरोप लाग्दै आएको छ । यसबाट मुक्त भएको अवस्थामा मात्र प्रदीपको करिअर लयमा फर्किनेछ । 

त्यसो त, अर्कोतिर दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्ता नायक लिदा ओभरसिज मार्केटबाट करोड रकम आउने तर चकलेटी नायकहरुको अनुहारले ओभरसिज मार्केटमा आधा लाख पनि निकाल्न मुश्किल पर्ने अवस्था आएपछि मेकरहरु दया, सौगात, विपिन जस्ता नायकतर्फ मोडिएका छन् । यसले, प्रदीप जस्ता चकलेटी नायकहरुलाई अप्ठ्यारोमा पारिरहेको छ ।