अनमोल केसी अब अलमल नगर
गतबर्ष फिल्म ‘छड्के २’ बक्स अफिसमा नराम्रोसँग पछारिएपछि नायक अनमोल केसीले करिअरलाई अगाडि बढाउन अलमल गरिरहेका छन् । एक दशक लामो फिल्मी करिअरमा अनमोल केसीले देखेको उतारचढाव पनि धेरै छ । सुरुवाती दिनमा ब्लकबस्टर व्यापार गरेका अनमोलका फिल्महरुको व्यापार पछिल्ला केही बर्षयता खस्किएका छन् ।
अनमोल केसीले केही बर्षयता फिल्म साइन गर्ने तर नगर्ने नायकको परिचय बनाउँदै गएका छन् । यसकाकारण पनि उनले नयाँ फिल्म साइन गर्दा उनकै फ्यानमा पनि उत्साह हराउँदै गएको छ ।
यो बर्ष अनमोल केसीले केही फिल्म साइन गरेका र केही फिल्म छाडेका खबरहरु सार्वजनिक भए । उसो त, उनले फिल्म छाड्ने प्रथा यो बर्षबाट मात्र सुरु गरेका होइनन् । केही बर्षयता उनमा देखिएका यस्तै बानीले गर्दा मानिसहरुमा उनीप्रति नै विश्वास गुम्दै गएको हो ।
१० बर्ष लामो करिअरमा अनमोलले आफूलाई चकलेटी नायकको रुपमा मात्र दर्शकमाझ चिनाएका छन् । उनले, आफूलाई अभिनय उत्कृष्ट गर्न सक्ने, विविधता खोज्ने नायकको रुपमा चिनाउनै बाँकी छ । करिअर सधै एकनाशले अगाडि बढ्दैन । यसैले, अनमोलले अब आफूमा विविधता खोज्न आवश्यक छ ।
केही दिनयता नायक अनमोल केसीले सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘रावायण’मा काम गर्न लागेको खबर सार्वजनिक भयो । यो कुरालाई निर्देशक र नायक दुबैले पुष्टी गरिसकेका छन् । यस्तै, यो फिल्म अगाडि अनमोलले रोहित अधिकारीको निर्माणमा बन्ने फिल्म ‘फर्कि फर्कि’ साइन गरेका थिए ।
यी दुबै फिल्म बन्छन् या बन्दैनन् भन्ने कुरामा अनमोलका फ्यान नै विश्वस्त हुन सकेका छैनन् । किनकी, आफ्ना फिल्म हलमा नलागेसम्म त्यो पूर्ण हुन्छ या हुदैन भन्न सकिने अवस्थामा स्वयंम अनमोल पनि छैनन् ।
यसैले, छोटो समयमा नै बनाएको लोभलाग्दो क्रेज जोगाउनका लागि अनमोल केसीले अब अलमल गर्नु हुदैन । आफूलाई साइन गरेर निर्मातालाई विश्वस्त बनाएका फिल्म उनले सुरुवातमा गर्नुपर्छ । निर्माता वा टिमका कारणले फिल्म निर्माणमा ढिलाई हुनु अर्को कुरा हो । अब, अनमोलका कारण कुनै पनि निर्माताको फिल्मको निर्माणमा ढिलाई हुनु हुदैन ।
किनकी, अनमोललाई आज ५० लाख पारिश्रमिक दिन तयार हुने निर्माता सधै तयार हुन्छन् भन्ने छैन । अनमोल केसीले पनि यसरी नै ढुलमुले तरिकाले काम गर्दै गए भने उनको यो क्रेज सधै यस्तै रहन्छ भन्ने पनि छैन । यसैले, अब अनमोललाई अलमल गरेर फिल्ममा काम गर्ने छुट छैन ।
फिल्म फ्लप हरेक स्टारको हुन्छ । फिल्म फ्लप भएको अवस्थामा त्यसबाट पाठ सिकेर अगाडि बढ्ने हो, काम गर्न नै डराउने होइन ।
प्रतिक्रिया