सारुकको मोबाइलमा भेटियो सुसाइड नोट, कसैलाई दुःख नदिन गरे आग्रह


असारको २१ गते आफ्नै निवासमा आत्महत्या गरेका नायक सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ । प्रहरीले सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाएको थियो । फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट भेटिएको हो । सारुकले आफ्नो सुसाइड नोटमा कसैलाई पनि दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । 

उनले लेखेका छन्–‘पुलिसहरु डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यही इन्ड हुनु थियो । सो सकियो । मेक मी रेस्ट इन पीस । धन्यवाद ।’

सारुकले सुसाइड नोटमा आफ्ना साथीहरुलाई समेत संझिएको प्रहरीले उल्लेख गरेको छ । प्रहरी श्रोतका अनुसार, सारुकले आफ्नी आमालाई संझदै अर्को जुनीमा पनि उनकै कोखबाट जन्मिन पाउँ भनी लेखेका छन् । 

सारुकले आफ्नो नजिकको साथी नम्रता श्रेष्ठको नाम पनि सुसाइड नोटमा उल्लेख गरेका छन् । तर, उनले नम्रतालाई पनि पोजिटिभ रुपमा सम्बोधन गरेका छन् । 

सारुकको निधनको कारणबारे मिडियामा विभिन्न कारणहरुसहित खबरहरु सार्वजनिक भइरहेका थिए । सारुकको निधनमा कसैको पनि किटानी जाहेरी परेको थिएन । प्रहरीले सारुकको सुसाइड नोटमा कसैलाई पनि ब्लेम नलगाउन आग्रह गरेकाले अब यो घटनालाई आत्महत्या मान्ने बताएको छ । साथै, मोबाइलमा भेटिएको सुसाइड नोटसहित प्रतिवेदन वुझाउने तयारी प्रहरीको छ ।