फिल्मको व्यापार सुस्तायो, न चले विदेशी न नेपाली
नेपाली बक्स अफिसमा विश्व बजारकै फिल्मले दम तोडिरहेका छन् । भारतमा सुरुवाती दुई दिनमा औषत कमाई गरिरहेको फिल्म ‘रक्की और रानी कि प्रेम कहानी’को व्यापार नेपालमा अपेक्षित छैन । करण जोहर जस्ता सफल निर्देशक र रणवीर सिंह र आलिया भट्ट जस्ता कलाकारले अभिनय गरेको फिल्मले पनि सुरुवाती दुई दिनमा गतिलो व्यापार गर्न सकेको छैन ।
यसरी हेर्दा, नेपाली दर्शकले अझै हलसम्म गएर फिल्म हेर्नका लागि मन बनाइरहेका छैनन् । यसैले, अधिकांशको ध्यान भदौमा नै मोडिएको छ ।
शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘रक्की और रानी कि प्रेम कहानी’ले भारतीय बक्स अफिसमा २ दिनमा २६ कराडको व्यापार गरेको छ । तर, नेपालमा यो फिल्मको ग्रस व्यापार २ दिनमा ३५ लाखको हारहारीमा छ । करण जोहरको फिल्मको हकमा यो सुखद व्यापार होइन ।
हलिउड फिल्म ‘बार्बी’को व्यापार ६० लाख माथिको ग्रस कलेक्शनमा रहँदा तेश्रो सातामा चलिरहेको नेपाली फिल्म ‘बगान’ले शनिबारसम्म ४५ लाख माथिको ग्रस कलेक्शन गरेको छ । यसरीहेर्दा, नेपाली बक्स अफिसमा न नेपाली न विदेशी, कुनै पनि फिल्मको व्यापार गतिलो छैन ।
वैशाख १ गते चलेको फिल्म ‘जारी’पछि हलमा लागेका कुनै पनि भाषाका फिल्मको व्यापार सुखद छैन । जसले, नेपाली फिल्मका वितरकलाई त तनाव बढेको छ नै । विदेशी फिल्म ल्याएर राम्रै पैसा कमाइरहेका वितरकहरु पनि निराश छन् । अधिकांशको ध्यान भदौमा रिलिज हुन लागेको हिन्दी फिल्म ‘जवान’ माथि छ । यस्तै, नेपाली वितरक पनि भदौमा रिलिज हुन लागेका केही फिल्ममाथि नै आँखा लगाएर बसेका छन् ।
प्रतिक्रिया