‘लियो’ को फस्ट लुकमा सञ्जय दत्त खतरनाक

सञ्जय दत्तले ‘केजीएफ च्याप्टर २’ मा खलनायकको भूमिका निर्वाह गरेर समीक्षक र फ्यानहरूलाई प्रभावित पारेका छन् ।  

यसपछि उनी साउथका धेरै फिल्ममा भिलेनको भूमिकामा देखिन थालेका छन् । सञ्जय दत्तको जन्मदिनको अवसरमा दुई फरक फिल्मबाट उनको लुक सार्वजनिक गरिएको थियो । यी दुवै फिल्ममा उनको लुक निकै खतरनाक देखिन्छ । सञ्जयको वीर अवतारपछि उनको खलनायकी शैलीलाई पनि मानिसले मन पराइरहेको देखिन्छ । थालापथी विजय अभिनीत फिल्म ‘लियो’बाट उनको लुक र क्यारेक्टर सार्वजनिक भएको हो । 

‘लियो’ लाई लोकेश कनागराजले निर्देशन गर्दै छन् । सञ्जय दत्तको जन्मदिनमा लोकेशले आफ्नो सोसल मिडिया अकाउन्टमा यसको पहिलो झलक शेयर गरेर सबैलाई चकित पारेका छन् । क्लिपमा, हामी सञ्जय दत्तलाई उनको कडा हिटिङ र स्टाइलिश दाह्रीमा देख्न सक्छौँ। कानमा मोबाइल राखेर चुरोटको धुवाँ निस्किरहेको सञ्जयको लुक निकै आकर्षक देखिएको छ । 

फिल्ममा सञ्जय दत्तको नाम एन्टोनी दास राखिएको छ । सञ्जयले फिल्मको कश्मीर शेड्युलको सुटिङ पनि सुरु गरिसकेका छन् । ‘लियो’ थालापथी विजयको ६७ औँ फिल्म हो। फिल्ममा विजयका अलावा प्रिया आनन्द र गौतम मेनन पनि छन् । विजयको अपोजिटमा त्रिशा कृष्णन पनि देखिने निर्माण पक्षले जानकारी दिएको छ । यो जोडी १४ वर्षपछि सँगै काम गर्दै छन् । दुवैको यो पाँचौँ फिल्म हो ।