फिल्मको ओभरसिज बिक्रीः स्टारडम र कथाको लिलामी

नेपाली फिल्म र ओभरसिज अधिकार बिक्री अहिले परिपुरक झैं छन् । किनकी फिल्मको घोषणाको समयदेखि नै ओभरसिज अधिकारको बिक्री भइसक्छ । कतिपय फिल्मले चाहिँ सुटिङ सकिएपछिमात्र फिल्मको ओभरसिज बिक्री गर्छन् । यी बिक्रीमा विशेषत स्टारडम र कथावस्तु जोडिन्छन् । 

निर्माता तथा कलाकार किरण नेपाली यतिबेला आफ्नो फिल्म ‘हात्तीछाप’को छायांकनमा व्यस्त छन् । यो फिल्मको ओभरसिज अधिकार उनले सुटिङ अगावै बेचिसकेका छन् । 

सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कविता आलेलगायतको अभिनय छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अभिनय रहेको फिल्म ‘नाङ्गो गाउँ’को पनि ओभरसिज अधिकार बिक्री भइसकेको छ । यो फिल्म हङकङ र बेलायतको राइट्स एसअफ स्पाडेस इन्टरटेनमेन्ट कम्पनीले किनेको हो । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञीराज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा लगायत कलाकारको अभिनय छ । यो फिल्म भदौ २९ गते नेपालसँगै अमेरिका र क्यानाडामा पनि रिलिज हुँदैछ । अमेरिका र क्यानडामा नेपाल इलेभेनले फिल्म रिलिज गर्न लागेको हो ।

‘हात्तीछाप’का निर्माता किरण कलाकार, निर्देशक, निर्माता र व्यानरलाई हेरेर विदेशमा रहेका नेपालीले फिल्म किन्ने गरेको बताउछन् । ‘व्यानरले कस्तो फिल्म बनाएको छ ? फिल्ममा कलाकार को छन् ? निर्देशन कसले गरेको छ र विषयवस्तु के छ जस्ता कुरा हेर्छन्’, किरण भन्छन्, ‘धेरैको चासो चाहिँ कलाकारमा नै हुन्छ । एक हिसाबले भन्नुपर्दा यो लिलामी जस्तै हो ।’
स्टारडम र विषयवस्तुले फिल्मको बिक्री मूल्य निर्धारण हुने भए पनि वर्तमान अवस्थामा त्यसको मूल्य मनलाग्दो रहेको खुलाए । ‘ओभरसिज बिक्रीको मूल्य मनलाग्दो नै छ । कसैले बढी त कसैले कम पाउँछन् । यति नै भन्ने निश्चित हुँदैन’, उनी भन्छन् ।

‘नाङ्गो गाउँ’का निर्देशक दीपेन्द्र लामा अहिले ओभरसिजले स्टारडमभन्दा पनि विषयवस्तु हेर्ने गरेको दाबी गर्छन् । ‘अहिले स्टारडमभन्दा पनि विषयवस्तु हेर्न थालेका छन् । स्टार हेरेर फिल्म लिँदैमा फिल्म चल्दैन भन्ने उनीहरुले बुझिसकेका छन्’, उनी भन्छन्, ‘स्टार कलाकार लिँदैमा धेरै पैसा आउँछ भन्ने मान्यता पनि हटिसकेको छ । किनभने स्टार कलाकार लिएर बनाइएका फिल्म फ्लप भएको हामीले देखिसकेका छौं ।’

केही समयअघि मात्र आर्टमान्डुले विपिन कार्की र मिरुना मगरलाई प्रमुख भूमिकामा लिँदै फिल्म ‘ऊनको स्वीटर’को घोषणा गर्यो । कथात्मक म्यूजिक भिडियो निर्माणमा स्थापित आर्टमान्डुले पहिलोपटक फिल्म निर्माणमा पाइला चालेको हो । यो फिल्ममा नवीन चौहानको निर्देशन रहनेछ ।

नवीनका अनुसार मंसीरबाट फ्लोरमा जाने फिल्मका लागि अहिले ३–४ देशबाट ओभरसिज बिक्रीका लागि प्रस्ताव आइरहेका छन् । ‘हाम्रा अघिल्ला काम विदेशमा बस्नुहुने नेपालीहरुले पनि मनपराइदिनु भएकाले ऊनको स्वीटरमा उहाँहरुको चासो उत्तिकै छ । अहिले फिल्म बाहिर लगेरमात्र हुँदैन, दर्शकले मनपराउँछन् या पराउदैनन् भन्ने चिन्ता पनि छ’, नवीन भन्छन्, ‘मेरो बुझाईमा स्टारकास्ट भन्दा पनि कथावस्तु प्रमुख कुरा हो । अहिले दर्शकको ध्यान स्टारभन्दा पनि कथातिर मोडिन थालेको छ ।’

फरक विगत

जानकारका अनुसार नेपाली फिल्ममा डिजिटलाइज भएपछि मात्र ओभरसिज बिक्रीको गति बढेको हो । त्यसो त सेलुलोइड प्रविधि हुँदा विदेशमा फिल्म रिलिज नभएका भने होइनन् । 
निर्देशक दयाराम दाहालका अनुसार उसबेला फिल्म वितरकले नै विदेशमा फिल्मको प्रदर्शनको माहोल मिलाउँथे । भारतको देहरादुन, नयाँदिल्ली, सिक्किम र सिलिगुडीलगायतका क्षेत्रमा नेपाली फिल्म प्रदर्शनका लागि सहजै अवस्था थियो । ‘उसबेला कतिले किनेर त कतिले पर्सेन्टेजमा फिल्म चलाउँथे । अहिलेको जस्तो सजिलो थिएन । रिल बोकेर फिल्म हलमा पु¥याउनुपथ्र्यो । त्यसकारण देशबाहिर लैजाँदा कार्गो गरेर लैजानुपथ्र्यो’, दयाराम सम्झन्छन्, ‘विदेशमा फिल्म देखाउनका परराष्ट्र मन्त्रालय र सञ्चार मन्त्रालयको सिफारिस चाहिन्थ्यो । त्यो सिफारिस पाउन पनि निकै समय लाग्थ्यो ।’

दयारामको अनुभवमा अहिलेका फिल्म कथावस्तुले चल्छन् । तर पहिला भने स्टारडमले नै चल्थ्यो । ‘राजेश हमालकै फोटो पोस्टरमा राखेर भए पनि धेरै निर्माताले लगानी सुरक्षित गरेका उदाहरण प्रशस्त छन् । उसबेला कथावस्तु नभई मान्छे हेरिन्थ्यो’, दयाराम भन्छन् ।

अर्का निर्देशक ज्ञानेन्द्र देउजाको अनुभवमा उसबेला डिभीडी, भिसीडीमार्फत विदेशमा फिल्म प्रदर्शन गरिन्थ्यो । विदेशमा रहेका नेपालीहरुको समूहमार्फत ती फिल्म रेष्टुरेन्ट, इभेन्ट हलमा देखाइन्थ्यो । ‘भारतमा फिल्म देखाउन सहज थियो । त्यसकारण पनि सबैको ध्यान भारतीय बजारमै हुन्थ्यो’, ज्ञानेन्द्र भन्छन् ।

दयारामको जस्तै ज्ञानेन्द्र पनि अहिलेको फिल्मको ओभरसिजन माग कथावस्तुका आधारमा हुने गरेको कुरामा सहमत छन् । ‘स्टारडम पनि चाहिन्छ । तर अहिलेको धेरैको ध्यान स्टारडमभन्दा पनि कथावस्तुमा जान थालेको छ । फिल्म किन्न चाहनेको माग पनि त्यही नै हो’, ज्ञानेन्द्र भन्छन् ।

ओभरसिजको चासो कथावस्तुमै

मध्यपूर्वी एसियाका लागि नेप फिल्ममार्फत फिल्मको ओभरसिज अधिकार लिदै आएका रमेश ढकाल आफूहरुको ध्यान स्टारडमभन्दा पनि कथावस्तुमा हुन थालेको स्वीकार्छन् । केही वर्षअघिसम्म स्टारडमलाई प्राथमिकता दिइरहेको ओभरसिजले अहिले भने कथावस्तुलाई प्राथमिकतामा राख्ने गरेको उनको बुझाई छ ।

‘फिल्मको ओभरसिज अधिकार किन्नुअघि व्यानर, कलाकार, निर्देशक, अघिल्ला फिल्मको पृष्ठभूमिको समीक्षा गर्छौ । ओभरसिजका दर्शकहरु दीपकराज गिरी, दीपेन्द्र के खनाल, रामबाबु गुरुङ, प्रदीप भट्टराईका फिल्ममा चासो राख्छन् । उहाँहरुको फिल्ममा स्टारडमसँगै कथावस्तु पनि राम्रा हुन्छन्’, रमेश भन्छन्, ‘अब फिल्म स्टारडमले मात्र चल्दैन । स्टार चलाउनलाई कथावस्तु पनि चाहिन्छ भन्ने ज्ञान धेरै निर्माताको दिमागमा पसिसकेको छ । यो बुझाईले हामी क्रेतालाई पनि सजिलो बनाइदिएको छ ।’

रमेश आबद्ध सेभेन सिज इन्टरटेनमेन्टले हालैमात्र फिल्म ‘कार्साङ’को ओभरसिज अधिकार किनेको छ । रमेशले ‘कार्साङ’को कथावस्तु मनपरेकाले आफूहरुले फिल्म किनेको बताए । फिल्म ‘कार्साङ’का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतिक) सुवेदी र रमेश ढकालले सम्झैता गरेका थिए । यो फिल्म छायांकनको तयारीमा छ । यो फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ र छिरिङ शेर्पा अनुबन्धित भइसकेका छन् ।

सेभेन सिज इन्टरटेनमेन्टमा मध्यपूर्वको निप फिल्म्स, अष्ट्रेलियाको जानवी इन्टरटेनमेन्ट र अमेरिकाको नेपाल एलेभन इन्टरटेनमेन्ट जोडिएका छन् ।  सेभेन सिजले अभिनेता खगेन्द्र  लामिछानेको लेखन तथा निर्माण रहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को ओभरसिज अधिकार खरिद गरिसकेको छ ।

रमेशका अनुसार उनीहरुले फिल्म किनेपछि फिल्मलाई विदेशमा बेच्दैनन् । ‘हाम्रो टिममा रहनुभएका साथीहरु जो जहाँ–जहाँ हुनुहुन्छ, उहाँहरुले आफू बसेको देश र छिमेकी देशहरुमा प्रदर्शनको व्यवस्था मिलाउनुहुन्छ । हामी अरुलाई फिल्म बेच्दैनौं’, रमेश भन्छन् ।

ओभरसिज बिक्रीले अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको पहुँच र प्रवद्र्धन गर्न उत्तिकै भूमिका खेलेको छ । यतिमात्र होइन, विदेशमा बस्ने नेपालीहरुलाई पनि नेपाली फिल्मप्रतिको चासो बढ्दै गएको छ । त्यहीकारण पनि पछिल्ला दशकमा नेपाली फिल्ममा गैर आवासीय नेपालीहरुको लगानी भित्रिने क्रम बढिरहेको छ ।

कम्पनीबाट उत्पादित वस्तु किन्ने व्यापारीले विशेषत वस्तुको गुणस्तर र ब्राण्डलाई ध्यान दिन्छन् । तर कहिलेकाहीँ राम्रो गुणस्तरमा ब्राण्डको अभाव र राम्रो ब्राण्डमा गुणस्तरको अभाव हुँदा क्रेतालाई थकथकी र पछुतो उत्तिकै लाग्छ । नेपाली फिल्मको ओभरसिज बिक्री क्रेज उत्साहबद्र्धक छ । तर कहिलेकाहीँ किनेको फिल्मले व्यापार नगरिदिँदा अथवा स्टारकै कारण फिल्म नचल्दा सामाजिक सञ्जालमा पीडा पोख्न पछि पर्दैनन् ।