नेपाली इतिहासमा बन्न लागेको फिल्म ‘कोत पर्व’ मा अभिनेत्री बेनिशा अनुबन्धित

रिमेश अधिकारीले निर्देशन गर्न लागेको फिल्म ‘कोतपर्व’मा अभिनेत्री बेनिशा हमाल अनुबन्धित भएकी छन् ।

निर्माता र अभिनेत्री हमालबीच हिजो बिहिबार लिखित सम्झौतामा हस्ताक्षर भएको बेनिशाले मेरो फिल्मलाई जानकारी दिइन् । 

उनले भनिन्, 'यस अघि कुराकानी भइरहेको थियो । हिजो मात्रै  ‘कोतपर्व’को शीर्षमध्येको एक भूमिकामा अनुबन्धित भएकी हुँ । कुन पात्रमा हो भनेर अहिले नै भन्न मिल्दैन यस विषयमा उहाँहरूले विस्तारै जानकारी दिने तयारी गरिरहनु भएको छ ।' 

यसअघि मुख्य महिला पात्रतर्फको रुपमा अभिनेत्री नम्रता श्रेष्ठलाई अनुबन्धित गरिएको थियो । त्यस्तै, पुरुष पात्रतर्फको प्रमुख भूमिकामा सौगात मल्ल र रमेश उप्रेती अनुबन्धित भइसकेका छन् ।

वि.स. १९०३ असोज २ गतेको दिन नेपाली इतिहासमा ‘कोत पर्व’ नामक हत्या काण्डको रुपमा परिचित छ । जसले नेपालमा राजाको प्रत्यक्ष शासनलाई राणा शासनले राज गर्न थालेको थियो ।

कोत पर्व नेपालको इतिहासमा दोश्रो ठूलो हत्याकाण्ड हो। रानीको बिश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरू बीच विवाद हुँदा मच्चिएको यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो।

गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा सर्वप्रथम अभिमान सिंह राना मगर मारिएपछि स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे, वीरकेशर पाँडे लगायतका ३१ जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो। यो घटनामा ११ चौतारिया, ६ पांडे ,३ थापा र ११ अन्य क्षेत्रीय भारादारको हत्या भएको थियो ।

यस्तो विभत्स र दुःखलाग्दो स्थितिको नतिजा जङ्गबहादुर प्रधानमन्त्री बने र १०४ वर्षको राणा शासनको उदय भयो। यस पर्वमा चौतरिया, पाँडे खलक, थापा खलक, बिष्ट, भण्डारी, आदि कुलका भारदारहरू एक चिहान बने (बस्न्यात खलक, भने जुठो परेकाले कोतमा उपस्थित हुन पाएनन् र बचे) भने जङ्गबहादुर र उनका भाइहरू शक्तिशाली भएर उदाए। यस पर्व सँगै जङ्गबहादुर प्रधानमन्त्री र मुख्तियार भए राणा शासनको उदय भयो। यही काण्डले जङ्गबहादुरको उदय भएको थियो।

निर्देशक अधिकारीले अन्य कलाकारलाई पनि अनुबन्धित गरेर कलाकारको लाइनअप पूरा गर्ने तयारी गरिरहेका छन् । ‘कोतपर्व’लाई रिमेश अधिकारी फिल्म प्रोडक्सन र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा छोटेलाल रौनियार र शारदा खड्का अर्यालले निर्माण गर्न लागेका हुन् । फिल्मको छायांकन चैतदेखि काठमाडौं र चितवनमा सुरु गर्ने तयारी गरिएको छ ।

फिल्ममा महेश दवाडीको पटकथा लेखन रहेको छ । फिल्ममा श्रीदेव बीएल एसोसिएट निर्देशक र परिकल्पनाकार स्वयं निर्देशक अधिकारी हुन् ।