नेपालगञ्जमा २५ करोडमा खुल्यो ५६२ सिटको ‘सिने रोयल’
नेपालमा मल्टिप्लेक्स हलको निर्माणमा बृद्धि भैरहेको छ । सिंगल हलहरु बन्द भैरहेको समयमा अत्याधुनिक प्रविधि भित्राउँदै सुविधा सम्पन्न हलको निर्माण बढेको हो ।
यसैक्रममा, नेपालगञ्जमा ‘सिने रोयल’ नामक नयाँ सिनेमा हल खुलेको छ । वेस्टर्न आईएनसी प्रालिले ३ पर्दासहितको हल संचालनमा ल्याएको हो । यो हललाई विनोद थापाले संचालन गरेका हुन् । हलमा ५६२ सिट छन् ।
यो हल निर्माणमा २५ करोड खर्च भएको संचालकले बताएका छन् । हङकङबाट भित्राइएको थिएट्रिकल म्यानेजमेन्ट सिस्टम प्रविधि जडान गरेर यो हल संचालन गरिएको छ । दर्शकले उच्च प्रविधिमा सुविधा सम्पन्न हलमा फिल्म हेर्न पाउने संचालकको भनाई छ ।
नेपालगञ्जको आदर्श नगरमा संचालनमा आएको यो हलले दर्शकको उच्च प्रविधिमा सुविधा सम्पन्न वातावरणमा फिल्म हेर्ने चाहना पुरा गर्ने विश्वास गरिएको छ ।
नेपालगञ्जमा नेपालबाट मात्र नभई भारतबाट पनि दर्शकहरु फिल्म हेर्न आउने गरेका छन् । नेपालगञ्जमा नेपाली फिल्मले बम्पर व्यापार गरेको उदाहरण पनि प्रशस्त छन् । यसैले, नेपाली र विदेशी भाषाको फिल्म हेर्न चाहने दर्शकका लागि यो हल उपयुक्त हुने विश्वास संचालकको छ ।
प्रतिक्रिया