४६ शोसहित तेस्रो हप्तामा 'बगान'

असार २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बगान’ आजबाट तेस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले उपत्यका र उपत्यका बाहिर गरी ३४ वटा हलबाट तेस्रो साताको यात्रा तय गरेको हो ।

यो फिल्मले विशेष गरी एकल महिलाको कथा बोल्छ । विशेषगरि, एकल महिलाको बिहेको बिषय उठाइएको यो फिल्ममा आमा र छोरीबिचको कथालाई प्रस्तुत गरिएको छ । फिल्मले आफ्नो सन्तानका लागि आमाले गर्ने त्याग तपस्या, त्यही त्यागमा भुल्दा भुल्दै आफ्नो बारेमा सोच्न विर्सिएकी आमालाई छोरीले देखाएको नयाँ बाटोको कथा प्रस्तुत गर्दछ ।

सरोज खनाल निर्देशित फिल्ममा करिश्मा मानन्धर, सरोज खनाल, नीर शाह, वसुन्धरा भुषाल, मिथिला शर्मा, आकाश श्रेष्ठ र प्रमिला कार्कीको अभिनय छ । प्रमिलाको यो डेब्यू फिल्म हो भने आकाशले अतिथी भूमिकामा अभिनय गरेका छन् ।

यसैबीच निर्माता सुरेश वाग्लेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो फिल्मप्रति दर्शकले देखाएको चासोप्रति कृतज्ञता व्यक्त गरेका छन् । ‘तीनवटा हलिउड र दुईवटा बलिउड फिल्मसँग बगान एक्लै प्रतिस्पर्धा गरिरहेको छ । यो हामीले सोचे भन्दा ठूलो सफलता हो । नेपाली फिल्मलाई दर्शकले दिएको यो माया प्रशंसनीय छ’, उनले लेखेका छन् ।

यो फिल्मले हाल काठमाडौं उपत्यकामा १३ हलमा २२ शो र उपत्यका बाहिर २१ हलमा २४ शो पाएको छ ।

प्रदर्शनको दशौं दिनमा निर्माताले बगानले ७० लाख ग्रस कलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरेपछि हाल यो फिल्मले छिट्टै करोड क्लबमा प्रवेश गर्ने तयारीमा रहेको बताएका छन् । 

पछिल्लो समय फिल्म ‘जारी’ यता नेपाली फिल्म हलमा हप्ता दिनसमेत टिक्न गाह्रो भइरहेको अवस्थामा ‘बगान’को व्यापारबाट फिल्मकर्मी उत्साहित छन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको फिल्म ‘बगान’ नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

एकल आमाहरूले देशको जुनसुकै हलमा पनि ‘बगान’ हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।