गीतले चम्किएकी स्वस्तिमा !

अभिनेत्री स्वस्तिमा खड्का भन्नासाथ जोकोहीले फिल्म ‘२ रुपैंयाँ’को ‘कुटुमा कुटु’ गीत सम्झन्छन् । यो गीत युट्युबमा सर्वाधिक हेरिएको गीतमा पर्दछ । स्वस्तिमाको विशेषता के हो भने उनी अभिनयसँगै नृत्यमा पनि पारंगत छिन् । उनले अभिनय गरेका अधिकांश फिल्मले बक्सअफिसमा सफल व्यापार गरेका छन् । र ती फिल्मका गीतले दर्शकलाई उत्तिकै मनोरन्जन पनि दिएका छन् ।

उनी अभिनित फिल्म ‘ऐचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले राम्रो गीतमा नृत्य गर्न पाउँदा आफूलाई भाग्यमानी नै ठानिन् । ‘डान्सिङ नम्बरका गीतहरु मेरा लागि जहिल्यै विशेष हुन्छन् । यो गीत पनि मेरा लागि विशेष थियो । किनकी यसमा डान्सिङ नम्बर थियो’, उनले भनिन् । 

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथीका रुपमा पुगेका नेकपा एमाले सचिव योगेश भट्टराईले त स्वस्तिमाको तारिफ गर्दै ‘नजिकिँदै गरेको तीजमा दह्रो खाएर यो गीतमा नाच्दा स्वस्तिमाको जस्तै ज्यान हुने’ भन्दा स्वस्तिमाको अनुहारमा खुशी प्रष्ट देखिन्थ्यो । 

स्वस्तिमाले अभिनय गरेका गीतहरु ‘ए दाजु नसमाउ नारीमा’, ‘साली मनपर्यो’, ‘माया ओए ओए’, ‘दर्शन सलाम’,‘उम्लियो भने पोखिन्छ’ लगायतका फिल्मी गीत हिट गीतमा पर्छन् । उनले अभिनय गरेको ‘असारै महिना सिमसिमे पानी’, ‘तातो गोली’, ‘कुरा बुझ्नु पर्छ’लगायतका भिडियो पनि हिट छन् ।