'काले केटाले'मा नाँच्नु भयो भने सबैको ज्यान स्वस्तिमाको जस्तै हुनेछ: योगेश भट्टराई

फिल्मको कार्यक्रममा कमै उपस्थित हुने नेकपा एमाले सचिव योगेश भट्टराई बिहीबार फिल्म ‘ऐचो पैंचो’को गीत ‘काले केटाले’को रिलिज कार्यक्रममा प्रमुख अतिथी भएर देखिए । उनले गीतमात्र हेरेनन् फिल्मसँग सम्बन्धित कुरा पनि राखे । उनले आफू फिल्मभन्दा फरक क्षेत्रको मान्छे भए पनि फिल्मसँगको सम्बन्ध नङ र मासुको जस्तै रहेको दाबी गरे ।

म बेग्लै क्षेत्रको मान्छे हुँ । तर हामी सबैको सम्बन्ध नङ र मासुको जस्तै छ । हाम्रो क्षेत्रले तपाईहरुलाई बोक्ने, तपाईहरुको क्षेत्रले हामीलाई बोक्ने भएकाले हाम्रो सम्बन्ध राम्रो छ’, उनले भने, ‘तपार्इंहरुको असल कामलाई हामीले जहिले पनि प्रोत्साहन र सर्मथन गरिरहेका हुन्छौं ।’

योगेशले फिल्मको गीतको तारिफ गर्न छुटाएनन् । ‘यो गीत मलाई लाग्छ कि अबको ८० साल सबैलाई नचाउन सक्ने खालको छ । अझै यो फिल्म तीज नजिकै रिलिज हुँदै छ र गीत पनि सार्वजनिक भइसकेकाले नेपाली दिदीबहिनीहरुले टन्न खाएर काले केटालेमा नाँच्नु भयो भने सबैको ज्यान स्वस्तिमाको जस्तै हुनेछ’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘ पक्कै पनि यो गीतले तीजमा पनि राम्रै बजार पाँउछ जस्तो लाग्छ । मैले स्वस्तिमाले अभिनय गरेको अर्को एउटा गीत ‘जागिर खान्छु सरकारी अड्डामा’ भन्ने शुभारम्भ गर्ने अवसर पाएको थिएँ । त्यो गीत पनि निकै चलेको थियो ।’ 

उनले पछिल्ले समय केही फिल्म हेरेको स्मरण गर्दै अभिनेत्री स्वस्तिमाले सबै किसिमको अभिनय गर्न सक्ने बताएका थिए । ‘मैले उहाँको चिसो मान्छे हेरेको थिए । उहाँ काठमाडौंमा जन्मिई हुर्किएको मान्छे त्यो विकट बाजुरातिर कसरी पुग्नु भयो होला भन्ने लागेको थियो । मैले पनि ती गाउँहरु घुमेको छु । त्यताको भाषा बेग्लै हुन्छ । त्यो भाषामा पनि त्यतिकै जम्नु भएको थियो’, योगेशले भने, ‘बर्षा राउतको फिल्म छक्कापन्जा हेरेको छु । नेपाली फिल्मलाई प्रोत्सान गर्नुपर्छ भन्ने मलाई लाग्छ । आज बिहान फिल्मकै बक्सअफिस सम्बन्धी मैले एउटा समाचार हेरेको थिए । जसमा छक्कापन्जाले १७ करोड कमाइ गरेछ । १७ करोड कमाइलाई बलिउडसँग तुलना गर्ने हो भने त्यो केही पनि हैन । तर नेपाली फिल्म उद्योगमा हेर्ने हो भने एउटा राम्रो संकेत गरेको छ । यहाँको लगानी अनुसार यसको कमाई राम्रो हो । यस्तै दायाहाङ राईको जारीले पनि १७ करोड नै कमाएछ । ऐचो पैंचोले पनि त्यो रेकडलाई तोडोस् ।’

उनले सबै दर्शकलाई फिल्म हेरिदिन आग्रह गरे । उनलाई पत्रकारले ‘कतै तपाईंले यो फिल्ममा लगानी गर्नुभएको छ कि’ भनेर सोधेको प्रश्नमा योगेशले ‘कृषा चौलागाईं बहिनीले धेरै कमाएर बाँडनु भयो भने तपार्इंलाई पनि अलिकति बाडौंला’ भन्दै जवाफ फर्काएका थिए । ‘यसमा मेरो लगानी होइन, समर्थंन मात्र छ’, योगेशले भने ।