नेपाली फिल्म ‘दि रेड सुटकेस' भेनिस फिल्म फेस्टिभलमा छनोट

विश्वविख्यात भेनिस फिल्म फेस्टिभलमा ‘रातो सुटकेस’ छनोट भएको छ ।

फिडेल देवकोटा निर्देशित फिल्म भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधामा छनौट भएको हो ।  विश्वकै पुरानोमध्येको फेस्टिभलमा पर्ने भेनिसको ८० औं संस्करणमा वर्ल्ड प्रिमियर हुने भएको हो ।

वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथा बयान गर्ने फिल्मलाई फिडेल स्वयंले लेखेका हुन् । रामकृष्ण पोख्रेलको निर्माण रहेको यो फिल्म विदेशी निर्माता र छायांकार बिना नै विश्वको प्रतिष्ठित फेस्टिभलमा छनौट हुने ‘दि रेड सुटकेस’ पहिलो फिल्म बनेको छ । 

फेस्टिभलमा पुगेका फिल्महरूको इतिहास हेर्ने हो भने अधिकांश फिल्ममा डीओपी विदेशी हुन्छ । नेपालको प्रतिनिधित्व गरेर यसअघि भेनिस पुगेका ‘कालो पोथी’ र ‘सेतो सूर्य’ दुवैमा निर्माता तथा छायांकार विदेशी थिए । भेनिसमा पहिलो पटक मीनबहादुर भामको लघु फिल्म ‘बाँसुल्ली’ले पाइला टेकेको थियो । लघु फिल्मकै विधामा पुजा गुरुङ र विभुषण बस्नेतको ‘दद्या’ पनि छनोटमा परेको थियो । दीपक रौनियारको ‘सेतो सूर्य’ पनि ओरिजन्टी सेक्सनमै छनोटमा परेको थियो । भामको ‘कालो पोथी’ ले त भेनिसकै ‘इन्टरनेस्नल क्रिटिक्स विक’ को विधामा उत्कृष्ट फिल्मको अवार्ड नै जितेको थियो । 

श्रीलंकाका चर्चित निर्देशक भिमुक्थी जयसुन्दराको सह-निर्माणमा बनेको फिल्मका निर्माता रामकृष्णसँगै शोभा थापा र निर्देशक देवकोटा हुन् । सुसन प्रजापतिले खिचेको फिल्ममा उत्सव बुढाथोकीको संगीत र साउन्ड डिजाइनमा श्रवलराज पाण्डे र सुदीप्ता सधुखान रहेका छन् ।  जर्मनीको युनिभर्सिटीमा भिज्युवल एन्थ्रोपोलोजी प्राध्यापन गर्ने फिडेलको यो डेब्यू फिल्म हो । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । 

विपिनले यही फिल्मका लागि एक पैसा नलिई काम गरेको अन्तर्वार्ता दिएका थिए । इटलीको भेनिस सहरमा हुने फेस्टिभलको ८० औँ संस्करण अगस्ट ३० देखि सुरु भएर सेप्टेम्बर ९ सम्म चल्नेछ ।