बोर्डले मोफसल केन्द्रित कार्यक्रम गर्दैछः प्रवक्ता बुढाथोकी
चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता के.एल.बुढाथोकीले बोर्डले मोफसललाई केन्द्रमा राखेर कार्यक्रमहरू ल्याइरहेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले सोमबार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता बुढाथोकीले आर्थिक बर्ष २०८०–०८१ म मोफसलमा बनेका फिल्महरूलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सार्वजनिक गरिएको बताए । उनले, मोफसलमा निर्माण भएका ३ वटा लघु फिल्मलाई पनि अनुदान दिने बताएका थिए ।
विशेष गरि, देशका कुनाकाप्चासम्म नेपाली फिल्मलाई पुर्याउने उद्देश्यले बोर्डले मोफसल केन्द्रित कार्यक्रमहरु ल्याएको प्रवक्ता बुढाथोकीको भनाई थियो । यो बर्ष बोर्डले मोफसलमा २ वटा महोत्सव कार्यक्रम आयोजना गर्ने र फिल्मको पहुँच विस्तारका लागि मोफसलमा नै घुम्ती सिनेमा कार्यक्रम आयोजना गर्ने समेत बताए ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता बुढाथोकीले समाजमा जागरण ल्याउने खालका ३ वटा लघु फिल्म निर्माण गरिने पनि बताए ।
यस्तै, उनले नेपालमा पहिलो पटक विकास बोर्डले फिल्म सम्बन्धी एक्स्पोको आयोजना गर्न लागेको जानकारी समेत दिएका थिए । उनले, चलचित्र नीति–२०७१ लाई परिमार्जन गरि चलचित्र नीति–२०८० सार्वजनिक गर्न लागिएको पनि बताएका छन् ।
प्रतिक्रिया