‘बगान’को कलेक्शन बोर्डले सार्वजनिक गर्दा करिश्माको आक्रोश


नायिका करिश्मा मानन्धर अभिनित फिल्म ‘बगान’ हलमा लागिरहेको छ । यो फिल्मले बक्स अफिसमा औषत कमाई गरिरहेको छ । निर्माताले सार्वजनिक गरेको रिपोर्ट र चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा धेरै अन्तर छ । निर्माताले १० दिनको कलेक्शन ७० लाख नेट सार्वजनिक गरेका छन् । विकास बोर्डको रिपोर्टमा ग्रस कलेक्शनमा पनि ७० लाख पुगेको छैन । जसकोकारण, निर्माताले सार्वजनिक गरेको रिपोर्ट गलत रहेको देखिन्छ । 

तर, फिल्म चलिरहेको समयमा विकास बोर्डले रिपोर्ट सार्वजनिक गर्दा त्यसले फिल्मको व्यापारमा नै असर पर्ने तर्क नायिका करिश्मा मानन्धरको छ । करिश्माले सामाजिक संजालबाट यो कुरामा आक्रोश पोखेकी हुन् ।

उनले लेखेकी छिन्–‘सरकारी तवरले नेपाली फिल्म क्षेत्रलाई सम्बोधन गर्ने संस्था चलचित्र विकास बोर्ड हो । विकास बोर्डद्धार नेपाली फिल्म सम्बन्धी सार्वजनिक हुने समाचार तथ्यमा आधारित हुनुपर्दछ । जबसम्म फिल्म, सिनेमा भवनमा चलिरहेको हुन्छ, तबसम्म दर्शक तान्ने संभावना रहिरहेको हुन्छ । फिल्म चलेको दुई दिनमै यति कमायो उति कमायो भनेर समाचार सार्वजनिक गर्नु विकास बोर्ड जस्तो जिम्मेवार निकायले गर्ने कुरा हो जस्तो मलाई लाग्दैन ।’

करिश्माले फिल्म हलबाट नउत्रिएम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने आवश्यकता समेत औल्याएकी छिन् । उनले अगाडि लेखेकी छिन्–‘चलचित्र बिकास बोर्ड, नेपाली फिल्मको विकास र समर्थनको लागि स्थापना गरिएको हो । गलत समयमा सूचना प्रकाशित गर्न होइन ।’

सरोज खनालको निर्देशनमा तयार भएको फिल्म ‘बगान’ दोश्रो हप्तामा चलिरहेको छ ।