‘जय हो’ले बढायो शोभित र सलोनको तनाव
भदौको ८ गतेबाट फिल्म ‘जय हो’ रिलिज हुँदैछ । यो फिल्मलाई शोभित बस्नेत र सलोन बस्नेतको होम प्रोडक्शनबाट तयार पारिएको हो । यसपटक, शोभितले फिल्म निर्देशनको जिम्मा लिएनन् । उनले, नयाँ पुस्ताका निर्देशक टेक पौरखी राईलाई फिल्म निर्देशनको जिम्मा दिए ।
तर, फिल्म रिलिजको दिन नजिकिदै गर्दा शोभित र सलोनको तनाव भने बढेको छ । शोभितले मेरो फिल्मसँग कुरा गर्दै भने–‘मलाई यसपटक फिल्मप्रति दर्शकको चाहना उत्कर्षमा पुगेको देखेर तनाव भैरहेको छ । हामीले फिल्मको फस्टलुक, टिजर र गीत सार्वजनिक गरेपछि फिल्मलाई लिएर आशा अझै बढेको छ । यो मेकरका लागि सुखद कुरा त हो, तर यसले अझै तनाव बढाउँछ ।’
नायक सलोन बस्नेतले पनि यो फिल्म उत्कृष्ट बनेको बताए । यसपटक, सिंगो टिमले नै मिलेर फिल्म बनाएको भन्दै हरेक दृष्टिकोणबाट फिल्म उत्कृष्ट बनेको बताए । सलोनले फिल्ममा आफूले फोटोग्राफरको भूमिका निर्वाह गरेको सुनाए ।
निर्माता शोभितका अनुसार, फिल्म नायिका केकी अधिकारीको वरिपरी घुमेको छ । फिल्ममा केकीको अभिनयले दर्शकलाई भुतुक्कै बनाउने उनको भनाई छ । नायक अर्पण थापाको गेटअप र अभिनयले त हलबाट बाहिर निस्कदा दर्शकको दिमागमा छुट्टै छाप छाड्ने उनको तर्क छ ।
फिल्म निर्देशन नगरेको बिषयमा शोभितले भने–‘मैले निर्देशन गरेको भए अरु कसैलाई पनि सोध्ने थिइनँ । सबै मेरो एकलौटी रुपमा काम हुन्थ्यो । फिल्ममा मुक्कामुक्की र बलात्कारको दृश्य हुन्थ्यो होला । यसैले, यसपटक मैले नयाँ पुस्तालाई फिल्म निर्देशन हस्तान्तरण गरेको छु ।’
प्रतिक्रिया