पूजाको 'दान्भी' आधा बाटोमै रोकियो
फिल्म ‘सम्हालिन्छ कहिले मन’ पछि अभिनेत्री पूजा शर्माले फिल्म ‘दान्भी’ मा अभिनय गर्ने भएकी थिइन् । यो फिल्मका लागि पुजाले एक्सनसमेत सिकेकी थिइन् ।
केही समयअघि फिल्मको घोषणासँगै पुजाको एक्सन अवतारयुक्त पोस्टर पनि सार्वजनिक भएको थियो । पोस्टरमा उनलाई मोडल कुन्साङ्ग बम्जनले साथ दिएका थिए ।
यो फिल्मको केही दिनअघि गीतसमेत खिचिएको थियो । करिब नौ दिनसम्म छायांकन गरिएको फिल्म हाललाई भने रोकिएको मेरोफिल्मलाई सूचना प्राप्त भएको छ ।
फिल्मलाई रुपेश तामाङले निर्देशन गदै थिए । रुपेशले यसअगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ हो । निर्देशक रुपेशले ‘दान्भी’लाई नेपालीसँगै हिन्दी र भोजपुरी भाषामा निर्माण गर्ने बताएका थिए ।
यो फिल्म किन रोकियो भन्ने वास्तविक कारण थाहा हुन नसके पनि फिल्म निकट स्रोतका अनुसार बजेट अभावका कारण फिल्म रोकिएको हो । यस विषयमा निर्देशक रुपेशसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।
त्यसो त, पूजाका अधिकांश फिल्ममा हल्ला बढी नै हुने गरेको यसअघिका फिल्मका उदाहरण हेर्दा हुन्छ । पोस्टर सार्वजनिकदेखि उनले एक्सन सिक्दै गरेका भिडियो र फोटोसमेत सार्वजनिक भएपछि फिल्मको काम अगाडि बढिरहेको अनुमान धेरैको थियो । तर त्यो अनुमान सही साबित हुन गाह्रो भइरहेको छ ।
फिल्मको निर्माणको काम बीचमै रोकिएपछि पुजा भने आफैंले सञ्चालन गर्न लागेको रेष्टुरेन्टतिर बढी समय बिताउन थालेकी छन् । यो कुराले पनि उक्त फिल्मको काम रोकिएको भन्ने कुराको पुष्टि हुन्छ ।
प्रतिक्रिया