उपेन्द्र सुब्बा भन्छन्–‘जारी सोचे जस्तो बनाउन सकिनँ’


लेखक उपेन्द्र सुब्बाको डेब्यू निर्देशनमा बनेको फिल्म ‘जारी’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । यो फिल्मले बक्स अफिसमा १७ करोड माथिको ग्रस कलेक्शन गरेको छ । फिल्मले शनिबार मात्र प्रदर्शनको सय दिन पुरा गरेको छ । पहिलो फिल्मबाट नै एउटा ऐतिहासिक रेकर्ड राख्न सफल निर्देशक सुब्बा अझै सन्तुष्ट भने छैनन् । 

शनिबार मेरो फिल्मसँग कुराकानी गर्ने क्रममा उपेन्द्रले भने–‘मलाई त सय दिन मात्र होइन, सय बर्षसम्म चलिरहने फिल्म बनाउन मन छ । यसले त सय दिन मात्र मनायो ।’

दर्शकले सर्वाधिक रुचाएको फिल्मबाट निर्देशक सुब्बा अझै पनि सन्तुष्ट छैनन् । उनले भने–‘जारीले सय दिन त मनायो । तर, मैले जुन सोचका साथ जारी बनाउँछु भन्ने ठानेको थिएँ, त्यो अनुसार अझै बनाउन सकिनँ ।’

उपेन्द्रका अनुसार उनले तत्काल ‘जारी २’ नै बनाउने सोच बनाएका छैनन् । उनका अनुसार, नयाँ कथा र नयाँ नाममा फिल्म बनाउने उनको तयारी छ । 

उपेन्द्रले आफूले हलमा ‘जारी’ एकपटक पनि नहेरेको सुनाए । भने–‘मैले यो फिल्म हलमा एक पटक पनि हेरेको छैन । एकपटक मिक्सिङमा हेरेको थिएँ, त्यसपछि हेर्न मन लागेन ।’