जारीको शतक, अरुलाई चुनौती

उमेर, क्रिकेट र फिल्मका लागि ‘शतक’ दुर्लभ अवसर हुन् । उमेरमा मृत्यु, क्रिकेटमा विकेट र फिल्ममा थिएटरबाट फिल्म ‘उतार्नु’ले ‘शतक’ को अवसर गुमाउछ । गत वैशाख १ गतेबाट रिलिज फिल्म ‘जारी’ ले शनिबार त्यो दुर्लभ अवसर पाएको छ । केही वर्षयता फिल्महरु थिएटरमा लामो समय नटिकिरहँदा त्यो खडेरीलाई तोड्दै कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ले शनिबार शतक अर्थात सय दिन पुरा गरेको छ । उपेन्द्रको यो डेब्यू निर्देशकीय फिल्म हो ।

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको फिल्मले श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथालाई जारीका माध्यमबाट देखाएको छ । फिल्मले काठमाडौँ उपत्यकाका क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो फिल्मले गत असार ३१ गतेसम्म ६ लाख १९ हजार २ सय २१ टिकट बिक्री भएबापत १७ करोड १७ लाख ९९ हजार १८ रुपैंयाँको ग्रस व्यापार गरेको छ ।

फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल ‘जारी’को सय दिनको सफलता आफूहरुका लागि पनि चकितको विषय भएको खुलाउछन् । ‘बाँसुरी फिल्मस्को यो पहिलो रेकर्ड हो । हामीले यसअघि निर्माण गरेको कबड्डी पनि रिलिजको ७४ औं दिनमा हलबाट उत्रिएको थियो’, पोखरेल भन्छन्, ‘यो फिल्मले हामीलाई थप जिम्मेवार पनि बनाएको छ । फिल्म सफल हुन्छ भन्नेमा ढुक्क थियौं । तर यति लामो समयसम्म जान्छ भन्ने कल्पना गरेका थिएनौं ।’

पछिल्लो दशकको रेकर्ड हेर्दा २०७५ सालमा प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ले चाबहिलको गोपीकृष्ण हल र ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा रिलिजको सय दिन पुरा गरेको थियो ।

२०६९ सालमा दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा’ले रिलिजको एक सय २८ दिन मनाएको थियो ।

सुखद विगत

नेपालमा फिल्म निर्माणको इतिहास हेर्ने हो भने डिजिटल भन्दा सेलुलोइड प्रविधिबाट बनेका फिल्मको इतिहास लामो छ । त्यही लामो इतिहासमा धेरै फिल्मले सय दिन रिलिजको इतिहास कोरेका छन् । 

निर्देशक तुलसी घिमिरे ब्लकबस्टर फिल्म बनाउने निर्देशकका रुपमा परिचित छन् । उनी निर्देशकीय ‘चिनो’, ‘लाहुरे’, ‘दर्पणछायाँ’ जस्ता फिल्मले रिलिजको सय दिन पार गरेका छन् । फिल्म ‘दर्पणछायाँ’ले त एकसाथ १२ वटा हलमा सय दिन मनाएर नयाँ रेकर्ड राखेको थियो । 

‘त्यो बेला फिल्मले सय दिन मनाउँदा एउटा उत्सव नै हुन्थ्यो । दर्शकसँग भेटघाट अन्तरक्रिया गरिन्थ्यो’, उनी भन्छन्, ‘राम्रा कथालाई बुझ्ने किसिमले प्रस्तुत गर्न सकियो भने फिल्म सफल हुन्छ भन्ने उदाहरण विगतमा पनि बनेका थिए, अहिले पनि बनेको छ । त्यसको उदाहरण जारीलाई लिन सक्छौं ।’

निर्देशक शोभित बस्नेतका फिल्म ‘कर्णवीर’, ‘अग्नीपथ’, ‘दुर्गा’ र ‘आर्मी’ले पनि रिलिजको सय दिन मनाएका छन् । उनका अनुसार ‘कर्णवीर’ र ‘अग्नीपथ’ले एकसाथ २५ वटा हलमा सय दिन मनाएका थिए । ‘एक दिनमा चार–चारवटासम्म शो हुन्थ्यो । त्यो बेलाको माहोल नै बेग्लै थियो’, शोभित सम्झन्छन्, ‘त्यो समयमा अन्य फिल्मले पनि सय दिन मनाउँथे । अहिले जारीको सफलतालाई म दुर्लभ नै भन्छु ।’

निर्देशक दीपाश्री निरौलाका अनुसार फिल्म ‘छक्का पन्जा’ले नसोचेकै सफलता पाएको थियो । ‘फिल्म त्यति लामो समयसम्म जाला भन्ने लागेको थिएन । छक्का पन्जाले सय दिन कटाउँदा हामी नै छक्क परेका थियौं’, दीपाश्री भन्छिन्, ‘राम्रो कथावस्तु, राम्रो फिल्म दर्शकलाई दिन सकियो भने लामो समयसम्म फिल्म हलमा रहिरहन्छ भन्ने यो उदाहरण पनि हो ।’

निर्माता, अभिनेता तथा निर्देशक अशोक शर्माका फिल्म ‘ट्रक ड्राइभर’ र ‘अल्लारे’ले पनि सय दिनको स्वाद चाखे । उनको अनुभवमा उसबेला वर्षमा दुईदेखि चारवटासम्म फिल्मले सय दिन मनाउँथे । ‘५१ दिन मनाउनेको संख्या धेरै हुन्थ्यो । फिल्म रिलिज भएका स्थानमा दर्शकको उपस्थिति उल्लेख्य हुन्थ्यो । मेरै फिल्म सीता पनि जनकपुरमा धेरै समयसम्म रिलिज भएको थियो’, अशोक सम्झन्छन् । अशोक ‘जारी’को सय दिनलाई ‘अग्र्यानिक’ मान्छन् । उनका अनुसार अझै पनि थिएटरमा यो फिल्मको अकुपेन्सी ७० प्रतिशतसम्म छ । यीबाहेक अन्य पनि धेरै फिल्मले सय दिनको सफलताको स्वाद चाखिसकेका छन् । 

अरूलाई चुनौती 

नेपाली फिल्ममा वर्षौदेखि उठ्दै आएको विषय भनेकै फिल्मको कथावस्तु नै हो । राम्रो कथावस्तु र प्रस्तुतीकरण नभएकै कारण फिल्मले लामो समयसम्म दर्शकको साथ नपाइरहेको गुनासो वर्षौँदेखिको हो । त्यो गुनासोलाई मात खुवाउँदै ‘जारी’ले धेरै पछि सय दिनको रेकर्ड राखेन मात्र, नयाँ रेकर्डका लागि अन्य फिल्मलाई चुनौती पनि दिएको छ ।

‘जारी’का कार्यकारी निर्माता पोखरेलको भनाईमा ‘जारी’को सफलताले निर्माण व्यानर बाँसुरी फिल्मस्लाई नै नयाँ चुनौती थपेको छ । ‘यो फिल्मले कबड्डीको ७४ दिनको रेकर्ड तोड्छ भन्ने सोचेका थिएनौँ । तर उल्टो भइदियो । अब हामीलाई नयाँ नयाँ कथामा अझ राम्रा फिल्म बनाउनुपर्ने चुनौती थपिएको छ’, मणिराम भन्छन् ।

निर्देशक तुलसी घिमिरेको बुझाईमा अहिले निर्माताको ध्यान फिल्म लामो समयसम्म हलमा टिकोस् भन्दा पनि फिल्मले लगानी उठाओस् भन्नेमै छ । ‘हाम्रो पालामा म कतै कमजोर पो हुन्छु कि भन्ने डर र चुनौती हुन्थ्यो । अहिले सबैको ध्यान बक्सअफिस कलेक्सनमा गएको देख्छु । मेरो फिल्म कति समयसम्म चल्छ भन्दा पनि कति कमाउँछ भन्नेमा केन्द्रित छन्’, तुलसी भन्छन्, ‘केही फिल्मबाहेकले कलेक्सनमा ध्यान दिन थालेकाले कन्टेन्टमा कमजोर पो हुँदैछौं कि ?’ उनको बुझाईमा कथावस्तु र प्रस्तुतीकरणमा गम्भीर हुने हो भने हरेक चुनौतीको सजिलै सामना गर्न सकिन्छ ।

निर्माता, कलाकार तथा निर्देशक अशोक शर्मा पनि ‘जारी’को सफलताले फिल्म निर्माता, निर्देशक र लेखकलाई विषयवस्तु खोज्न चुनौती थपेको स्वीकार्छन् । ‘हामी गहन विषय खोज्छौं, तर प्रस्तुतीकरणमा चुक्छौं । त्यसकारण पनि असफल भइरहेका छौं’, शर्मा भन्छन्, ‘पर्दामा कथा देखिनेमात्र होइन, फिल्मले कथालाई न्याय दिने खालको पनि हुनुपर्छ । यो चुनौतीलाई पार गर्न सक्यौं भने कुनै पनि फिल्मले असफलता व्यहोर्नु पर्दैन ।’

‘जारी’को सफलताले प्रदर्शनका लागि तयार भएका र धमाधम निर्माण भइरहेका फिल्मलाई चुनौती थपिदिएको छ । ‘मौलिक’ र ‘अग्र्यानिक’ फिल्म बनाएको दाबी गरे पनि थिएटरमा आइपुग्दा फ्लपको टोकरीमा पुगेका फिल्मलाई ‘जारी’ले ‘मौलिक र अग्र्यानिक भनेको त यस्तो पो हुनुपर्छ’ भन्दै गतिलै झापड दिएको छ । 

भनिन्छ, इतिहास जित्नेका पक्षमा लेखिन्छ । ‘जारी’ले त्यो इतिहास लेखिसकेको छ । फिल्मको बजेट, कलाकारको स्टारडमलाई अघि सार्दै आफूलाई अब्बल दाबी गर्ने फिल्मकर्मीका फिल्मले ‘जारी’कै जस्तो सुनौलो इतिहास कोर्छन् या कोर्दैनन् । त्यो ‘पर्ख र हेर’कै विषय बनेको छ ।