हिन्दी सिरियल एक मन्द विषः यसरी नेपाली समाज बर्बाद पार्दैछन्

हुन त नेपालमा टेलिभिजनको इतिहास त्यति लामो छैन । टेलिभिजनमा देखाइने सामाग्रीले समाजलाई परेको प्रभावका बारेमा जान्नुभन्दा पहिला यसको इतिहास हेरौं । सन् १९७० को दशकको बेला नेपालमा सेटलाइटमार्फत हुने खाने र सिमित सम्भ्रान्त वर्गले भारत तथा अन्य देशहरुबाट प्रसारण हुने च्यानलहरु हेर्थे ।  

यसरी टिभी हेर्ने दर्शकहरुको संख्या बढेसँगै नेपालमा पनि राष्ट्रिय टेलिभिजनको आवश्यता महशुस भयो र आधिकारिक रुपमा नेपालमा पहिलो पटक २०४१ साल माघ १७ गते अथात् सन् १९८५ जनवरी ३० मा नेपाल टेलिभिजनको स्थापना गरियो । त्यसो त छिमेकी देश भारतमा सन् १९५९ देखि नै टेलिभिजन प्रसारण सुरु भइसकेको थियो । 

एक सर्वेक्षण अनुसार त्यतिबेला काठमाडौंमा १ हजार २ सय ६६ वटा टेलिभिजन मात्रै थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार नेपाल टेलिभिजन प्रसारण प्रारम्भ भएपछि प्रति महिना ३ सय टेलिभिजन सेट नेपाल भित्र्न थालेका थिए । 

सुरुवातमा समाचार र केही सन्देशमुलक सामाग्री देखाइए पनि समय क्रमसँगै मनोरञ्नात्मक सामाग्रीका साथै टेलिश्रृङ्खला र फिल्महरु पनि प्रसारण गर्न थालियो । ‘१५ गते’, ‘उजेली’, ‘दशैं’, ‘दलन’, ‘जनैँको साँचो’, ‘मूर्ती’ जस्ता केही सिरियलहरुले धेरै दर्शकहरुको मन जिते । ती सिरियलहरु सन्देशमुलक र समाजको यर्थाथता झल्काउने खालका थिए । त्यससँगै भारतबाट ल्याइएका ‘रामायण’ र ‘महाभारत’जस्ता धार्मिकक श्रृङ्खला प्रसारण हुन थालेपछि त्यसको क्रेज पनि एकाएक बढ्न पुग्यो । समयसँगै नेपालमा हिन्दी सिरियलको प्रभाव बढ्न थालेपछि त्यसको असर नेपाली टेलिभिजनहरुमा देखाइने सामाग्रीमा पनि प्रत्यक्ष असर पर्न थाल्यो । अर्कोतर्फ केवलहरुको प्रवेश र निजी क्षेत्रले टेलिभिजन च्यानल चलाउन थालेपछि त्यसमा देखाइने सामाग्री बेलगाम हुन पुगे । 

नेपाली टेलिभिजन च्यानलहरुले नै हिन्दी र पाकिस्तानी सिरियल देखाउन थाले भने विदेशी च्यानलको पहुँच पनि सहज हुँदै गयो । यिनै विदेशी सिरियल र फिल्महरुका कारण हाम्रो भाषा संस्कृति माथि आम बलात्कार हुन थाले । एकातिर नेपाली समाज अराजकतातर्फ अघि बढदै गयो भने अर्कोतिर यस्ता सिरियलहरुले मानिसहरुको दिमागमा अनावश्यक वस्तुहरुको फोहोर थुर्पार्दै गए । 

नेपालमा ठुलो संख्यामा गृहिणीहरु दिनभर हिन्दी सिरियल हेरेर समय बिताउने गर्दछन् । उनीहरु आफ्नो मन पर्ने सिरियल आउने साँझभरमा खाना बनाउन सम्भव हुन्छन् । अवस्था कस्तोसम्म छ भने दिनभरी काम गरेर आउने श्रीमान बेलुका घर पुग्दा श्रीमतीको मुख हसिलो छ भने ‘उनको मनपर्ने सिरियलको हिरो बाँच्यो’ भनेर बुझनुपर्ने हुन्छ । उनको मुख अध्यारो देखियो भने ‘हिरोको निधन भएछ’ या ‘हिरोइनले छाडेर गइछ’ भनेर बुझनुपर्ने हुन्छ । यस्ता हिन्दी सिरियलहरु परिवारमा षड्यन्त्र गर्न र झगडाको बिउ रोप्नका लागि निकै उपयोगी छन् । 

हामी बेलाबखत ठुलो पर्दाका संवाद र दृश्य अनि व्यवहारका कारण आवाज उठाउने गछौं । जस्तो कि भखरै पनि हामीले हिन्दी फिल्म ‘आदिपुरुष’मा बोलिएको गलत शब्दका कारण नेपालमा यसको प्रदर्शनमा रोक लगायौं । हो, ठुलो पर्दाका फिल्महरुमा जब नेपाल र नेपाली माथि हेपिएका संवाद र अवस्थाहरु आँउछन्, तब हामीमा राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद जागृत हुन्छ र आन्दोलनमा उत्रिन्छौं । 

तर के तपाइले कहिल्यै सोच्नु भएकोे छ ? बेरोकतोकको भारतीय टेलीसिरियलहरु सिधै नेपालीहरुको कोठा–कोठामा प्रवेश पाउँदा यसले कस्तो असर पारिरहेको छ ? वास्तवमै हिन्दी टिभी सिरियलमा देखाइने विषयवस्तु गम्भीर चिन्ताको विषय हुने गर्दछन् । जसलाई हामी सामान्य सोच्ने गर्दछौं । किनकी यस्ता टिभी सिरियलहरुमा नेपाल र नेपालीमाथि अपमान हुने कुनै त्यस्ता शब्द त हुँदैनन् । तर ति सिरियलका प्रस्तुतिहरुले भने हाम्रो समाजमा गम्भिर असर पु¥याइरहेका छन् । अतिरिक्त, वैवाहिक सम्बन्ध, इश्र्या, आशंका, सम्बन्ध विच्छेद अनि बहुविवाह । सिरियल अधिकांश समय यसकै सरोफेरोमा घुमिरहेका हुन्छन् ।

एकता कपुरले निमार्ण गरेको ‘एक्स एक्स एक्स’ वेब सिरिजमा त यतिसम्म देखाइएको छ कि एकजना सैनिक अधिकारी जब सिमानामा पोस्टिङ हुन्छन् तब उनकी श्रीमतीले अर्को पुरुषसँग सम्बन्ध राख्छिन् । अब यस्ता दृश्यले टिभि सिरियल नै वास्तविक जीवन धान्ने जोडीहरुका लागि कस्तो असर पर्ला ? 

‘बडे अच्छे लगते हैं’ नामक एक सिरियल कै कुरा गरौं । यस सिरियलका नायक रामले सुरुमा प्रियासँग विवाह गरे, त्यसको केही समयपछि उनले प्रियासँग सम्बन्धविच्छेद गरेर आफ्नी साली आइषासँग विवाह गरे । अनि फेरी आइषासँग पनि सम्बन्धविच्छेद गरेर प्रियासँग फेरी विवाह गरे । यस्ता सिरियल हेरेर नेपाली समाजमा पनि मानिसहरु सानाभन्दा साना विषयलाई लिएर सम्बन्धविच्छेदका लागि उत्साहित बन्दै गइरहेका छन् । 

यो त भयो सम्बन्धविच्छेदका कुरा । यता बहुविवाहको अवस्था पनि उस्तै ।

‘कहिँ तो होगा’ नामक सिरियलकी मुख्य पात्र कशिश मुख्य पात्र पियुषबाहेक अन्य दुईजना युवासँग पनि विवाह गर्छिन् । ‘कुम कुम भाग्य’का दुवै मुख्य कलाकारले आपसमा विवाह गर्नुभन्दा पहिले नै धेरै पटक विवाह गरिसकेका हुन्छन् । यतिमात्रै होइन, नायकले सुन्न सक्ने शक्ति गुमाएको भन्दै आफ्नै श्रीमतीका अघि अर्की महिलासँग विवाह गरिरहेका छन् । ‘कभि सौतन कभि सहेली’ नामक सिरियलमा एक व्यक्ति आफ्ना दुवै श्रीमतीसँग एउटै घरमा बस्ने गर्दछन् । अझ अर्को एकता कपुर कै हिन्दी सिरियल ‘नागिन’ जस्को नेपाली महिला दर्शकहरु प्रशस्तै छन् । जसले मनोरञ्जनका नाममा लाध्नु दर्शकहरुको दिमागमा गोबर भरिरहेको छ । मतलब यस्ता सिरियलहरुमा न फिजिक्सको नियम पालना हुन्छ, न केमेष्ट्री, न त बायोलोजी यतिसम्म कि यस्ता सिरियलहरुमा ‘कमनसेन्स’ पनि प्रयोग गरिन्न । 

यस्ता सिरियलहरुमा महिलालाई एउटै प्याटर्नमा देखाइने गरिन्छ । या त उनी एउटी अवला नारी हुन्छिन् । जसमाथि सधै हिंसा भईरहन्छ । या उनी एउटी आदर्श बुहारी हुन्छिन् । जो सधै भान्सामै रमाइरहन्छिन् र श्रीमान र परिवारलाई बचाउनका लागि उनी ज्यान दिन पनि तयार हुन्छिन् । एउटी साधारण अन्तरमुखी सोझी युवतीलाई सधै कुर्ता सुरुवालमा चस्मा लगाएको देखाइन्छ भने भिलेन र स्मार्ट युवतीलाई आधुनिक र छोटा कपडामा प्रस्तुत गर्ने गरिन्छ । 

सबै भन्दा हाँस्यास्पद विषय त यस्ता सिरियलमा सधै महिला नै भिलेन हुने गर्दछन् । सुन्दा यो विषय सामान्य लागे पनि यसले समाजमा पार्ने प्रभाव निकै गम्भीर हुन्छ । 

आन्द्र विश्वविद्यालयको अनुसन्धान अनुसार यस्ता सिरियलमा देखाइएका नकारात्मक विषयवस्तुका कारण महिलाहरु वास्तविक जीवनमा पनि नकारात्मक रुपमै प्रभावित भइरहेका छन् । यस्ता सिरियल हेरेर आफ्नै परिवारका सदस्यसँग पनि महिलाहरुले नकारात्मक व्यवहार देखाउने गर्दछन् । यति मात्रै होइन, कतिपय महिला सिरियलमा देखाइएका नकारात्मक चरित्रसँग आफ्नो तुलना गरेर आफै मख्ख पर्ने गर्दछन् । 

उदाहारणका लागि सिरियलमा एउटी सासुले आफ्नी बुहारीलाई धेरै अत्याचार भएको देखेकी महिलालाई आफु ति सासुसँग तुलना गर्छिन् र आफु त्यो भन्दा धेरै राम्रो भएको परिकल्पना सम्झेर मख्ख पर्छिन् । यस कारण पनि यस्ता  सिरियलमा आकर्षण बढ्ने गर्दछ ।

अब चर्चा गरौं यस्ता सिरियलले प्रवद्र्धन गरिरहेको अर्को मुख्य समस्या त्यो हो अपराध । तपाईले पनि ‘सावधान इन्डिया’, ‘गुम्रह’, ‘क्राइम पेट्रोल’, हत्या लुटपाट र अपहरण जस्ता घटना देखाउने अपराध सो त अवस्य नै हेर्नु भएको होला । यस्ता सिरियल राम्रो र नराम्रो दुवै मानसिकतामा भएका दर्शकहरुको ग्राहक बन्ने गर्दछ । मतलव यदि तपाईको स्वभाव सालिन र शान्त छ । अनि अपराधदेखि सर्तक हुनुहुन्छ भने यस्ता कार्यक्रम बरु तपाईका लागि चेतनामुलक बन्ने गर्दछ । तर यसको विपरित तपाई उग्र हुनुहुन्छ अनि तपाईको मन अपराध उन्मुख छ भने यस्ता सिरियलहरु तपाईका लागि भिटामिन बन्न पुग्छ ।  

मतलब व्यक्तिको स्वभाव उसको बुझ्ने तरिका फरक हुने हुदाँ उसले त्यही अनुसार यस्ता कार्यक्रमहरुबाट ज्ञान हासिल गर्दछ । पछिल्लो समय नेपाल प्रहरीले समातेका धेरै अपराधीहरुमध्ये केहीले यस्तै अपराधसँग जोडिएका कार्यक्रम हेरेर अपराध गर्न सिकेका थिए । यस्ता सिरियल अथवा कार्यक्रमले सार्वजनिक रुपमा जनचेतना फैलाउने काममात्र हैन । बरु यसले सँगसँगै अपराध गर्ने र बच्चने तरिका पनि सिकाउने गर्दछ । 

विशेष गरि नेपालमा नेपाली सिरियलको भन्दा पनि हिन्दी फिल्म र सिरियलको प्रभाव धेरै छ । अझ मध्यम वर्गीय नेपाली समाजमा यस्ता सिरियलमा देखाइने पात्रको नक्कल गर्ने परिपाटी निकै बढ्दै गइरहेको छ । वास्तविकता भन्दा पनि काल्पनिक संसारमा रमाउने मानसिकता बोकेकाहरुलाई यस्ता दृश्य उत्पादनले धेरै चाडो प्रभावित पार्दछन् । अपराध गर्न उक्साउने र परिवार अनि समाजलाई भड्काउन खोज्ने विषय बस्तु समेटिएका यस्ता टेलिभिजन सामग्रीले वास्तवमै हाम्रो समाजलाई धमिराले झै दिन दिनै खोक्रो बनाउदै लगिरहेका छन् । यसैले राज्यले यो विषयमा अनुसन्धान गरेर अब के गर्ने भन्ने निचोडमा पुग्न ढिला भइसकेको छ । मतलब राज्य स्तरमै विदेशी च्यानल प्रसारणको सेन्सर बोर्ड हुनु अति आवश्यक छ । एजेन्सीको सहयोगमा