कुल जनसंख्याको ३ प्रतिशतले पनि हेर्दैनन् नेपाली फिल्म


नेपाली फिल्मको सर्वाधिक कलेक्शन कति हो ? फिल्म ‘कबड्डी ४’को ग्रस कलेक्शनलाई हेर्ने हो भने २२ करोड आसपास छ । यो सबै फिल्ममा लागू हुदैन । यो बाहेक नेपाली फिल्मको व्यापार १८ करोडसम्म भएको पाइन्छ । आर्थिक बर्ष २०७९–८० को व्यापार हेर्ने हो भने, सर्वाधिक कमाई गरेको फिल्म ‘छक्का पन्जा’को टिकट ६ लाख २९ हजार ७ सय ५० विक्री भएको छ । यसमा केही हलमा बक्स अफिस जडान नभएकाले साढे ६ लाख मान्न सकिन्छ । 

यसरी हेर्दा, नेपालको कुल जनसंख्या ३ करोड मान्दा नेपाली फिल्म हेर्ने दर्शकको संख्या करिब ३ प्रतिशत हुन आउँछ । अर्थात, सर्वाधिक धेरै हेरिएको फिल्मलाई ३ प्रतिशत जनताले मात्र टिकट काटेका छन् । 

नेपाली फिल्म ‘छक्का पन्जा देखि छक्का पन्जा ४ हुदै जारी’सम्म आइपुग्दा पनि दर्शकको प्रतिशत बढेको छैन । नेपाली फिल्मका निर्माताले ३ प्रतिशत दर्शकमा नै चित्त वुझाउनु परेको छ । 

उसो त, नेपाली फिल्म ३ प्रतिशतले मात्र हेर्छन् भनेर हिसाब हुन थालेको आज होइन । ५० को दशकदेखि नै यो कुरा सुन्न थालिएको हो । तर, ८० को दशक सुरु हुँदासम्म पनि नेपाली फिल्म हेर्ने दर्शकको संख्या बढाउन सकिएको छैन । यो निकै दुखदायी कुरा हो । 

टिकटको मुल्य बढेकाले पनि नेपाली फिल्मको व्यापार १७ करोडसम्म हुन सकेको छ । यदि, टिकटको दर पहिलेकै अवस्थामा हेर्ने हो भने नेपाली फिल्म हेर्ने दर्शकको संख्या निकै घटेको प्रष्ट हुन्छ । 

केही फिल्मले लगानी उठाउँदैमा या केही निर्माताले नाफा कमाउँदैमा नेपाली फिल्म उभो लाग्दैन । चलचित्र विकास बोर्डले आर्थिक बर्ष २०७९–८० को बक्स अफिस डाटा सार्वजनिक गर्दा १ करोड माथि कमाउने फिल्मको संख्या १० वटा मात्र छ । नेपाली फिल्मको लगानी औषतमा डेढ करोड आसपासलाई मान्ने हो भने पनि बर्षमा रिलिज भएका ५७ वटा फिल्ममध्ये ७ वटाले मात्र लगानी उठाएको देखिन्छ । 

बाँकी रहेका फिल्मबाट नेपाली निर्माताले एक रुपैयाँ पनि कमाएका छैनन् । केही फिल्मका निर्माताले विदेश विक्री, डिजिटल राइट्स विक्री गरेर आफूलाई सुरक्षित गरेका छन् । 
यो बिषय गम्भिर छ । फिल्म क्षेत्रले यसलाई गम्भिर रुपमा लिन आवश्यक छ ।