सधै किन लाग्छ सलोनलाई हिरोमा चल्न नसकेको आरोप ?


नायक सलोन बस्नेतले होम प्रोडक्शनदेखि घर बाहिरको फिल्ममा काम गरिरहेका छन् । तर, सलोनलाई सधै लाग्ने एउटा आरोप के हो भने उनी नायकको रुपमा चल्दैनन् । फिल्मको पर्दामा नायकको रुपमा नचल्ने उनी सह–नायकको रुपमा भने सधै हिट हुन्छन् । नाम चलेका नायकहरुको फिल्ममा पनि सलोन नभई हुदैन । तर, सलोन आफैले धानेको फिल्म भने चल्दैनन् । 

फिल्म ‘जय हो’ सलोनको होम प्रोडक्शनको फिल्म हो । यो फिल्ममा उनी मुख्य नायकको रुपमा छन् । यसैले, यसपटक उनलाई यो फिल्म चलाउनुपर्ने दबाब पनि छ । 

सलोनलाई मुख्य नायकको रुपमा अरु ब्यानरले नपत्याएपछि घरकै साथ खोजेको आरोप समेत लाग्ने गरेको छ । यो बिषयमा उनी भन्छन्–‘जुनसुकै काम गर्न पनि परिवारको साथ त चाहिन्छ नै । अझ, म त बालकलाकारको रुपमा यो क्षेत्रमा आएको हुँ । सानैबाट मलाई परिवारले नै साथ दिदै आउनु भएको छ । आज पनि फिल्ममा काम गर्दा मलाई गाइड गर्ने मान्छे चाहिएको छ । यसैले, मलाई परिवारको साथ त सधै नै चाहिन्छ ।’

परिवार मिलेर फिल्म बनाउनुको कारणबारे सलोनले भने–‘हामीले फिल्ममा हिरो बनौला, पैसा कमाउँला भन्ने सोचेर भन्दा सबै जना मिलेर फिल्म बनाउँदा अझै राम्रो होला कि भनेर जय हो बनाएका हौं । आशा छ, यो फिल्मले राम्रो गर्नेछ र हामी अझै अगाडि बढ्नेछौं ।’

यो फिल्म भदौको ८ गतेबाट रिलिज हुँदैछ । फिल्ममा सलोनको साथमा केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय छ ।