किन स्किनका प्रोडक्टको प्रमोशन गर्न चाहन्नन् स्वस्तिमा खड्का ?
ब्रान्डको बजारमा नायिका स्वस्तिमा खड्काको माग उच्च छ । नेपालमा पछिल्लो समय बजारमा आएका अधिकांश ब्रान्डसँग स्वस्तिमा जोडिएकी छिन् । स्वस्तिमालाई राखेर ब्रान्डको प्रमोशन गर्न कम्पनीहरु उत्साहित पनि छन् ।
तर, नायिका स्वस्तिमा खड्काले भने आफूले स्किन केयरको प्रमोशन नगर्ने बताएकी छिन् । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै स्वस्तिमाले भनिन्–‘कुनै पनि प्रोडक्टको प्रमोशन गर्नु अगाडि त्यसको बिषयमा वुझ्न आवश्यक छ । अझ, स्किनको बिषयमा त झनै संवेदनशील हुनुपर्छ । हामी आँखामा कुनै पनि औषधी किनेर हाल्न सक्दैनौं । हो, स्किन पनि संवेदनशील कुरा हो । यसैले, योसँग जोडिएका कुनै पनि प्रोडक्टको प्रमोशन गर्नु अगाडि मैले त्यसको बारेमा धेरै वुझ्ने गरेकी छु ।’
स्वस्तिमाले पैसा आउँछ भन्दैमा जुनसुकै प्रोडक्टको पनि प्रमोशन गर्न नहुने तर्क गरिन् । स्वस्तिमाले भनिन्–‘मैले मार्केटमा विशेषगरि खानेकुरा र लगाउने कुराको बिषयमा अरुलाई पनि आग्रह गरिरहेको छु भने मैले पहिले आफूले त्यसलाई प्रयोग गर्नुपर्छ भन्ने सोच्छु ।’
कामको कुरा गर्ने हो भने स्वस्तिमाको ३ वटा फिल्म पाइपलाइनमा छन् । यो बर्ष उनी अभिनित ‘एैंचो पैंचो, पशुपति प्रसाद २ः भष्मे डन र दिमाग खराब’ रिलिज हुँदैछन् ।
प्रतिक्रिया