कलाकारले भिजा नपाउँदा नेफ्टा अवार्ड रद्द

अन्ततः नेफ्टा अवार्ड नहुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यो अवार्ड यही जुलाई २२ मा अमेरिकाको टेक्सासमा हुने भनी आयोजकले प्रचारप्रसार गरेको थियो । आयोजकले प्रचारप्रसारसँगै मनोनयन पनि सार्वजनिक गरेको थियो । 

मनोनयन सार्वजनिक पछिको भिजा प्रक्रियाप्रति आयोजकले नै चित्त दुखाई गरेर पछाडि सरेपछि अवार्ड हुने वा नहुनेमा अन्योल थियो । अब भने अवार्ड रद्द भएसँगै त्यो अन्योलको अन्त्य भएको छ । 

अवार्डको मिति अब केबल ४ दिन मात्र बाँकी छ । मिति नजिकिँदै गएपछि कलाकारको भिजा प्रक्रियालाई लिएर अवार्ड हुन नसकेको आयोजकको दाबी छ । अमेरिकास्थित अवार्डको स्थानीय आयोजक आर्यन फिल्मस्ले सुरुमा हात झिकेपछि अवार्ड विवादमा आएको थियो । उसले भिजाका लागि पठाइएको नाममा अनाधिकृत व्यक्तिको प्रवेश भएको भन्दै आपत्ति जनाउँदै हात झिकेको थियो । आर्यन फिल्मस्ले विज्ञप्ती जारी गर्दै आफूले अवार्डका लागि खर्च गरेको करिब १५ हजार अमेरिकी डलरसमेत पूर्ण रुपमा फिर्ताको माग गरेको थियो ।

यो अवार्डको विषयमा अनाधिकृत व्यक्तिलाई चर्को रकम लिएर अमेरिका प्रवेश गराउने तयारी भइरहेको भन्दै विरोध दिनानुदिन आइरहेको थियो । स्रोतका अनुसार प्राविधिक संघले जम्मा ५० जनाको भिजा लगाउने प्रयास गरे पनि अमेरिकी राजदुतावासमा भिजा लिनेको चापका कारण आयोजकले रोजेको मितिमा कसैले पनि अन्तर्वार्ता दिन पाएका थिएनन् । पढ्नका लागि अमेरिका जाने विद्यार्थीलेसमेत भिजा नपाइरहेको अवस्थामा कलाकारले कसरी पाउलान् भन्ने चर्चा फिल्मवृत्तमा थियो । त्यसपछि आयोजकले भिजा भएका कलाकारहरु खोज्दै अमेरिकामै जसरी भए पनि अवार्ड गर्ने भन्दै हल्ला गरिरहेका थिए । तर अन्तिम समयमा अवार्ड रद्द भएपछि अमेरिका जान तयार रहेका कलाकार खिन्न भएका छन् ।

यस विषयमा मुख्य आयोजक प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग बुझ्दा उनले आफू व्यस्त रहेको प्रतिक्रियामात्र दिए ।

अमेरिकापछि दोस्रो विकल्पमा राखिएको नेपाललाई आयोजकले कहिले गर्छन् । यस विषयमा पनि अध्यक्ष लामाले प्रतिक्रिया दिन चाहेका छैनन् ।