सारुकको निधनबारे छानबिन गर्दै प्रहरी, घर अगाडिको सिसी टीभी फुटेज नियाल्दै
नायक सारुक ताम्राकारले आत्महत्या गरेको भोलीपल्टै उनको शवको पोष्टमार्टम गरेर दाहासंस्कार गरिएको थियो । तर, सारुकको निधनको कारणबारे विभिन्न प्रश्नहरु भने उब्जिन थालेका छन् । मिडियामा दैनिकजसो नयाँ नयाँ बिषयमा खबरहरु पनि सार्वजनिक भैरहेका छन् ।
यसैले, सारुकको निधनको छानबिनको लागि प्रहरीमा पनि दबाब बढेको छ । प्रहरीले सारुकको मोबाइलको परिक्षण गरिरहेको छ । यसको रिपोर्ट आउनका लागि २ साता लाग्ने बताइएको छ ।
यसैबिच, सारुकको घर अगाडिको सिसी क्यामेराको फुटेज प्रहरीले लगेको छ । सारुकका पिता सानु ताम्राकारले पनि प्रहरीले फुटेज लगेको पुष्टी गरेका छन् । सानु ताम्राकारले सारुकको निधन भएको राती एक नायिकाले आफूलाई फोन गरेर स्वास्थ्य अवस्था वुझेको पनि उल्लेख गरेका छन् ।
असारको २१ गते सारुकले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । सोही दिन उनी फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा पनि व्यस्त थिए । फिल्मको छायांकनका क्रममा उनी र नायिका नम्रता श्रेष्ठबिच झगडा परेको यसका निर्देशक राजीब गुरुङले खुलाइसकेका छन् । झगडापछि सारुक निराश देखिएको उनले बताएका छन् ।
प्रतिक्रिया