मिडियासँग तर्सिएकी दीपाश्री निरौला
लकडाउनको समयमा संचारकर्मी प्रकाश सुवेदीको शोमा पुगेर नायक राजेश हमालको बिषयमा दिएको एक अभिव्यक्तिले निर्देशक तथा कलाकार दीपाश्री निरौलालाई अहिले पनि पिरोलिरहेको छ । अहिले पनि सामाजिक संजालमा उनका तस्वीर तथा समाचारमा यही बिषयलाई जोडेर प्रतिक्रिया आउने गरेका छन् ।
यो बिषयमा व्यापक आलोचना आएपछि दीपाश्रीले मिडियासँग दुरी बनाएकी छिन् । कुनै समय मिडिया फ्रेन्ड्ली मानिने दीपाश्री अहिले सकेसम्म अन्तरवार्ता दिनै नपरे हुन्थ्यो जस्तो गर्छिन् ।
दीपाश्रीले हालै आयोजित एक कार्यक्रममा भनिन्–‘भर्खर भर्खर काठमाडौं आउँदा मैले पत्रिकामा मेरो अन्तरवार्ता प्रकाशन हुँदा सबैलाई देखाउँदै हिडेकी थिएँ । तर, अहिले त कतै अन्तरवार्ता दिइहालेँ भने पनि कसैले नहेरिदिए हुन्थ्यो जस्तो लाग्छ ।’
दीपाश्रीले अचेल मिडियाको प्रश्न र क्यामेरालाई बन्दुक सोझ्याएको जस्तो महशुश गर्न थालेकी छिन् । उनले भनिन्–‘अहिले त कुनै बिषयमा बोल्नै नपरे हुन्थ्यो जस्तो लाग्छ । किनकी, अहिले यति धेरै संजालहरु छन् कि, कुन कुरा कसरी आउँछ थाहा हुँदैन ।’
दीपाले मिडियाले विश्वसनिय भएर समाचार लेखिदिने हो भने आफूहरु मर्न वाध्य हुन नपर्ने तर्क गरिन् । फिल्म ‘छक्का पन्जा ४’को प्रचारका क्रममा पनि दीपाले मिडियासँग खासै निकटता बनाइनन् । फिल्मको काम नै नसकिएको भन्दै दीपा र दीपकराज गिरीले मिडियामा खासै अन्तरवार्ता दिएनन् ।
प्रतिक्रिया