विवादको घेरा भित्र नेपाली कलाकार
यो महिना नेपाली फिल्म क्षेत्रका लागि बक्स अफिस सुखद रहेन । तर, यो महिना नेपाली कलाकारहरुका लागि पनि सुखद रहेन । यो महिना नेपाली फिल्म क्षेत्रका २ कलाकारको निधन भयो । नायक सारुक ताम्राकारले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरे भने कलाकार रोबिन तामाङको यो महिना नै निधन भयो ।
यो महिना केही नेपाली कलाकारहरु विवादको भूमरीमा परे । जसकाकारण, उनीहरुको करिअरमा नै ठूलो समस्या देखियो ।
नायिका आँचल शर्माले एक कार्यक्रममा निर्णायक हुँदा बोलेको कुराले चर्को आलोचना खेपिन् । एक सौन्दर्य प्रतियोगीतामा पुगेकी आँचलले एक प्रतिस्पर्धी यूवकको शारिरिक बनोटलाई हेरेर खिल्ली उडाइन् । सामाजिक संजालमा उक्त भिडियो भाइरल भएपछि आँचलको चर्को आलोचना भयो । भलै, उनले पछि उक्त भिडियोमा बोलेको कुरा आफूले यूवकका लागि नभई आफ्नै लागि भनेको तर्क गरिन् ।
आँचलले आफ्नो बारेमा हुँदै नभएको खबर फैलाउने २ फेसबुक पेजको विरुद्धमा साइबर ब्यूरोमा उजुरी पनि दिइन् । नायक दयाहाङ राईको बिषयमा आँचलले बोल्दै नबोलेको कुरा २ फेसबुक पेजले प्रकाशन गरेका थिए ।
नायक पल शाह पनि यो महिना सर्वाधिक विवादमा रहे । कमेडियन सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप शो’मा पुगेर उनले दिएको अन्तरवार्ता सर्वाधिक आलोचित हुन पुग्यो । बलात्कार जस्तो घटनालाई मजाक बनाएर प्रस्तुत गरेको भन्दै पल शाहको आलोचना भयो । पछि, कान्तिपुर टेलिभिजनले उक्त अन्तरवार्ता युट्युबबाट हटायो । पलले यसपछि एउटा स्टाटस लेखे । तर, उक्त स्टाटसले उनलाई ब्याक फायर बनायो । पलले आफूले ‘के बलात्कारीको ट्याग निधारमा टाँसेर हिड्नु पर्ने हो’ भनेर लेखेका थिए । पलको स्टाटसले उल्टै आलोचना भोगिरहँदा उनी पनि विवादको ठूलो भूमरीमा परिरहेका छन् ।
नायिका नम्रता श्रेष्ठको नाम नायक सारुक ताम्राकारको आत्महत्या प्रकरणमा जोडिएको छ । सारुकको निधन भएको १० दिन बढी भैसकेको छ । विशेषगरि, सारुकले आत्महत्या किन गरे भन्ने बिषयमा फेरि सामाजिक संजालदेखि मिडियामा प्रश्नहरु सोझिएका छन् । योसँगै यो घटनामा नायिका नम्रता श्रेष्ठको नाम जोडिएको छ । यो बिषयमा नम्रताले केही पनि बोलेकी छैनन् । तर, फिल्मका निर्देशक राजिब गुरुङ नम्रताले दोलालघाटको मसानघाटमा लगेर मध्यरातमा बुटी बाँध्न लगाएको र बोका काटेर खाएको खुलाएका छन् । यति मात्र होइन, नम्रता र सारुकको सुटिङका क्रममा झगडा परेको र सोही दिन सारुकले आत्महत्या गरेको समेत खुलाएका छन् । योसँगै नायिका नम्रता श्रेष्ठ सारुक आत्महत्या प्रकरणमा तानिएकी छिन् ।
मोडल कुसुम शर्मा आफूले लगाएको एक पहिरनका कारण विवादमा परिन् । ‘सकम्बरी’ बोलको गीतमा अभिनय गरेकी कुसुम सामाजिक संजालमा पहिरनका कारण ट्रोल बनेपछि उनले यो बिषयमा बोल्नु पर्यो । उनले, आफ्नो समाचार नबनाइदिन आग्रह गरेकी छिन् ।
यसरी, यो महिना नेपाली कलाकारहरु विवादको ठूलो भूमरीमा परेका छन् । यी घटनाक्रमले कलाकारहरुको करिअरमा समेत ठूलो असर पर्ने देखिएको छ ।
प्रतिक्रिया