सरोजको ‘बगान’ रिलिज, के प्रिमियरमा तारिफ गरे जस्तै छ फिल्म ?
नायक सरोज खनालको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘बगान’ आजबाट देशभरका हलमा रिलिज भएको छ । विशेषगरि, एकल महिलाको बिहेको बिषय उठाइएको यो फिल्ममा आमा र छोरीबिचको कथालाई प्रस्तुत गरिएको छ ।
फिल्मको बुधबार आयोजित प्रिमियरमा फिल्मीकर्मीले खुबै तारिफ गरेका थिए । करिश्मा मानन्धर, सरोज खनाल, मिथिला शर्मा, बसुन्धरा भुषाल, आकाश श्रेष्ठ, प्रमिला कार्की लगायतका कलाकारको यो फिल्ममा मुख्य भूमिका छ ।
फिल्मले आफ्नो सन्तानका लागि आमाले गर्ने त्याग तपस्या, त्यही त्यागमा भुल्दा भुल्दै आफ्नो बारेमा सोच्न विर्सिएकी आमालाई छोरीले देखाएको नयाँ बाटोको कथा प्रस्तुत गर्दछ ।
‘बगान’लाई प्रिमियरमा फिल्मीकर्मीले खुबै तारिफ गरेपनि के फिल्म तारिफ गरे जस्तै छ त ? यो फिल्मले महिला सशक्तिकरणको मुद्दा उठान गर्दछ । जसलाई निर्देशक सरोज खनालले संवादबाट नै वुझाउने कोशिश गरेका छन् ।
फिल्मका संवादहरु कही मन छुने छन् भने कही कतै जर्बजस्ती शिक्षा दिए जस्तो लाग्छ । फिल्मको खिचाई निकै कमजोर छ । क्लाइमेक्सको दृश्यले भावुक बनाउँछ । तर, फिल्मको प्रस्तुतिमा सरोज खनाल चुकेका छन् ।
जसकाकारण, यो फिल्म धेरै हदसम्म फिल्म भन्दा वृत्तचित्र जस्तो लाग्छ । तर, एकल महिलाको सशक्तिकरणका लागि आवाज उठाउने पहलकदमी लिनु फिल्मको बलियो पाटो हो । फिल्मले सामाजिक रुपान्तरणको सन्देश दिन्छ ।
यसलाई फिल्म भन्दा पनि महिलाहरुको लागि आवाज उठाइएको सन्देशमुलक सिरियलको रुपमा वुझ्दा अझै राम्रो हुन्छ ।
प्रतिक्रिया