सारुक आत्महत्या प्रकरणः सबैको ध्यान मोबाइलतिर
अभिनेता सारुक ताम्राकारको आत्महत्याको चर्चा अझै पनि फिल्मवृत्तमा सेलाएको छैन । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट नेपाली फिल्मवृत्तमा पाइला चालेका सारुकले छोटो समयमा ‘मेरी मामु’, ‘रानी’, ‘नमारी बाँचे’मा अभिनय कला देखाए ।
पछिल्लो पटक फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहँदा उनले यो फिल्मको कामलाई पूर्णबिराम लगाउन सकेनन् । किनकी उनी आफैंले जीवनलाई पूर्णबिराम गराउने निर्णय लिएर आत्महत्याको बाटो रोजे ।
आत्महत्या गर्नु केही घण्टाअघि उनका बाबुआमा भोजमा गएका थिए । परिवारका अनुसार बाबुआमाले सारुकलाई पनि भोजमा आउन भने पनि उनले बाबुआमालाई केही समयमा आउने खबर गरेका थिए । तर उनी भोजमा नगई घरमा आएर गलत निर्णय लिए ।
सारुकले आत्महत्याको बाटो लिए पनि उनले के कारणले आत्महत्या गरे भन्ने कुरा अझै रहस्यको गर्भमै छ । किनकी सारुक फिल्म क्षेत्रमा सोझा र इमान्दार अभिनेताका रुपमा चिनिन्थे ।
सारुकले किन आत्महत्याको बाटो रोजे ? अहिले फिल्मकर्मीको यही एउटा प्रश्न छ । हुन त उनको नाम एक अभिनेत्रीसँग नजोडिएको पनि होइन । तर नामै जोडिए पनि ती अभिनेत्रीलाई शंका गरिहाल्नुपर्ने अवस्था छैन । किनकि सारुकले शंका र उपशंका गर्नुपर्ने कुनै प्रमाण छोडेका छैनन् । सुसाइड नोट नभएकाले पनि शंका गर्नुपर्ने प्रमाणिक आधार केही पनि छैन ।
सारुक अभिनेता सानु ताम्राकारका छोरा हुन् । सानुजस्तै सारुकको इमान्दार र सरल छविबाट फिल्मकर्मी प्रभावित थिए ।
सारुकलाई नजिकबाट चिन्नेका अनुसार उनी मानसिक रुपमा समेत पूर्ण रुपमा फिट थिए । यो घटनाका विषयमा प्रहरीमा परिवार तथा अन्य कोहीबाट उजुरी परेको छैन । त्यसकारण पनि प्रहरीले घटनास्थलको अवस्था शङ्का गरिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकाल्दै अनुसन्धान भने जारी राखेको छ ।
प्रहरीका अनुसार उनले अन्तिम अवस्थामा परिवारका कुनै पनि सदस्यसँग् सम्पर्क नगरेको र कुनै पनि सन्देश पठाएको खुलेको छैन । तर अन्तिम समयमा कोहीसँग मोबाइलमा सन्देश आदानप्रदान अथवा कुराकानी भएको हुनसक्ने भन्दै मोबाइल फरेन्सिक विभागमा पठाएको छ ।
सारुक केही वर्षयता एक अभिनेत्रीसँग निकट थिए । जुन कुरा मिडियामा लुकेको थिएन । उनीहरुको बारेमा गसिप पनि नबनेका होइनन् । केही फिल्मकर्मीले ती अभिनेत्रीमाथि शंका गरे पनि प्रमाण नहुँदा मौन छन् । अहिले सबैको ध्यान मोबाइलमा नै छ । फरेन्सिक ल्याबबाट आएको तथ्यले नै सारुकको आत्महत्याको कारण खुल्नेछ ।
प्रतिक्रिया