भुवनविरुद्धको मुद्दा जितेपछि साम्राज्ञी भन्छिन्–‘आफ्नो आवाज बन्द गर्न नदिनुहोस्’


नायक भुवन केसीले मानहानी भएको भन्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दायर गरेका थिए । बुधबार उक्त मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत, काठमाडौंले भुवनको दाबी नपुग्ने फैसला गरेको छ । योसँगै साम्राज्ञीविरुद्ध दायर गरेको मुद्दा भुवनले हारेका छन् । 

मुद्दा जितेपछि इन्स्टाग्राममा लाइभ आएकी साम्राज्ञीले भनेकी छिन्–‘हरेक नवोदित कलाकार र उदयीमान महिलाहरुको लागि, कसैलाई पनि आफ्नो आवाज बन्द गर्न नदिनुहोस् । आफ्नो सत्य बोल्नुहोस् र आफूले विश्वास गरेको कुरामा खडा हुनुहोस् ।’

साम्राज्ञीले भुवन केसीको नाम भने कतै पनि उल्लेख गरेकी छैनन् । तर, उनले भुवन केसीको नाम नलिई भनेकी छिन्–‘त्यो व्यक्तिले मलाई म शक्तिशाली छु, फिल्म क्षेत्रमा समर्थन छ भनेर देखाउनु थियो । र मलाई १० करोडको मुद्दा हालेर बुलिङ गरियो । आफ्नो अनुभव बोल्न पनि नपाइने रहेछ । यो निकै डरलाग्दो छ । जे भयो त्यसले अब मलाई कुनै पनि तरिकाले आश्चर्यचकित बनाउने छैन ।’

साम्राज्ञीले फिल्म ‘ड्रिम्स’को छायांकनका क्रममा आफूलाई भुवन केसीले दुव्र्यवहार र लैंगिक भेदभाव गरेको आरोप लगाएकी थिइन् । भुवनले भने साम्राज्ञीले आफ्नो मानहानी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । 
वि.सं २०७७ साल साउन ९ गते भुवनले दिएको मुद्दामा बुधबार फैसला गर्दै न्यायाधीस बासुदेव पौडेलको एकल इजालासले जाहेरीकर्ता भुवन केसीको दाबी नपुग्ने फैसला गरेका थिए ।