‘बगान’ निर्माता भन्छन् - एकल महिलाको विषयलाई दर्शकसम्म पुर्याउने कुरामा म सहमत भएँ

अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदैछ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको फिल्ममा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यबहार इत्यादिलाई प्रस्तुत गरिएको छ । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । यसै फिल्ममार्फत निर्देशनमा कलाकार सरोज खनाल डेब्यु गर्दैछन् ।

‘सरोज दाई अमेरिका आएको समयमा हाम्रो सहकार्य गर्ने योजना बनेको थियो । म नेपाल आएपछि उहाँले सुनाउनु भएको कथामा कन्भिन्स भएँ’, गीतकार वाग्लेले भन्नुभयो,’गीतसंगीतसँगै सामाजिक विषयलाई फिल्मको ठुलो पर्दाको माध्यमले दर्शकसम्म पुर्याउने कुरामा म सहमत भएँ । सरोज दाई निर्देशनमा डेब्यु गर्ने र करिश्मा दिदी निर्मात्रीमा रहने भएपछि म पनि निर्माताको रुपमा डेब्यु गरे ।’

आफ्नो निर्माण रहेको फिल्ममार्फत अनुभवी कलाकार सरोज खनालले डेब्यु गर्नु सुखद रहनुका साथै आफू भाग्यमानी निर्माता रहेको बताए । ‘सर्जक भएकाले सामजिक दायित्व बहन गरेर कथा रोजेका हौँ । यो कथा र यसमा देखाईएको भावनालाई परिवारले महसुस गर्नु जरुरी छ । यसले सकारात्मक पक्षलाई प्रसार गर्न मदत गर्छ’, निर्माता सुरेशले भने ।

फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो फिल्ममा नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको छ ।

कार्यकारी निर्माता विनोद मानन्धर रहेका फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

यो फिल्म नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।