रेकर्ड ब्रेक रकममा ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिदेशमा विक्री, अहिलेसम्मकै फराकिलो रिलिज


दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’लाई निर्माणपक्षले महँगो रकममा ओभरसिजमा बिक्री गरेको छ । यो फिल्मको अन्तराष्ट्रिय रिलिज सेभेन सिज कम्पनीले गर्ने भएको छ । फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीविच आज आधिकारिक संझौता भएको हो । 

यो फिल्मलाई अहिलेसम्मकै ठूलो रिलिज विदेशमा गरिने बताइएको छ । निर्देशक दीपेन्द्र के खनालले मेरो फिल्मसँग भने–‘यो समग्र नेपाली फिल्म उद्योगका लागि नै खुशीको कुरा हो । यसले नेपाली फिल्मलाई माथि उठाउनका लागि महत्वपूर्ण भूमिका खेल्छ भन्नेमा विश्वस्त छौं ।’

यो फिल्मलाई अमेरिकाका ठूला सिनेमा भवनहरुमा रिलिज गरिनेछ । रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिससहितका अमेरिकाका ठूला सिनेमा चेनहरुमा यो फिल्म रिलिज हुनेछ । अमेरिकामा मात्र यो फिल्मको १२ सय शो पक्का भैसकेको छ । 

अष्ट्रेलियामा पनि इभेन्ट, होइट्स, रिडिङ, रेगल, भिलेज, लाइम, युनाइटेड, ओडेन सिनेमा चेनमा ५ सय शो पक्का भैसकेको छ । यस्तै मध्यपूर्वमा भक्स सिनेमा, स्टार सिनेमा, नोभा सिनेमा, रोयल सिनेमा र सिनेको सिनेमा चेनमा ७५० वटा शो लगाउने तयारी भैसककेो छ । 

यस्तै, यो फिल्म जापानको होक्काइदो, नारा र नागोयाको मीडल्याण्ड स्क्वायर सिनेमाका सय शोसहित प्रदर्शनमा आउनेछ । यो लगायत भारत, दक्षिण कोरिया, मलेसिया, इराक, हङकङ लगायतका देशमा यो फिल्मलाई दशैंको फूलपातिको दिन अर्थात कार्तिक ४ गतेबाट नै रिलिज गर्ने तयारी गरिएको छ । 

टुकी आर्ट्सको ब्यारनमा निर्माण भएको यो फिल्म नेपालमा पनि कार्तिक ४ गतेबाट रिलिज हुँदैछ । नेपाली फिल्मले अमेरिका, अष्ट्रेलीया, जापान लगायतका देशमा यति धेरै शोज पाएको संभवत यो पहिलो हो । फिल्मको निर्माणपक्षले अन्तराष्ट्रिय विक्री रकम खुलाएको छैन । तर, अहिलेसम्मकै उच्च रकममा फिल्मको ओभरसिज राइट्स विक्री गरिएको बुझिएको छ । निर्देशक खनालले फिल्मको विक्री रकम भन्दा पनि यसको रिलिजले पार्ने प्रभाव महत्वपूर्ण भएको बताए । 

यो बर्षकै सर्वाधिक प्रतिक्षित यो फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, खगेन्द्र लामिछाने लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको हाइप नेपालमा पनि उच्च छ । यसैले, यो फिल्मले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ ।