रामबाबुले पाएनन् ‘डिग्री माइला’ नाम, अब ‘म हुँ डिग्री माइला’ बन्ने


निर्देशक रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘डिग्री माइला’ बन्ने चर्चा केही समयदेखि चलिरहेको छ । फिल्म ‘फूलबारी’पछि रामबाबुले नयाँ फिल्म निर्देशन गरेका छैनन् । उनले, फिल्म ‘जारी र राजागन्ज’मा लगानी मात्र गर्दैछन् । 

तर, फिल्म ‘डिग्री माइला’लाई भने उनले नै निर्देशन गर्ने तयारी गरेका थिए । बाँसुरी फिल्मसको ब्यानरमा यो फिल्म बनाउने तयारी गरिएको छ । तर, अब यो फिल्मको नाम परिवर्तन भएको छ । रामबाबुले फिल्म ‘म हुँ डिग्री माइला’ नाम राखेर चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गरेका छन् । 

निर्देशक बसन्त निरौलाले लकडाउनको समयमा नै फिल्म ‘डिग्री माइला’ दर्ता गरेर निर्माण गर्ने तयारी गरेका थिए । यसपछि, लकडाउन भयो र फिल्म निर्माण हुन सकेन । वसन्तका अनुसार, उनले फिल्मका लागि कलाकार समेत पक्का गरिसकेका थिए । 

वसन्तले भने–‘डिग्री माइला’ मेरो कम्पनीबाट दर्ता छ । यो विषयमा रामबाबु गुरुङले पनि मसँग केही कुरा गर्नुभएको छैन ।’

दयाहाङ राइको शीर्ष भूमिका रहने यो फिल्मलाई जेठबाट नै छायांकन गर्ने तयारी रामबाबुको थियो । तर, यो प्रोजेक्टको निर्माण केही पछि धकेलिएको छ ।