सरोज खनाल, बगान र नीर शाह

उत्साह, डर र आत्मविश्वास । अभिनेता टर्न निर्देशक सरोज खनालमा यी तीन कुरा मेल खान्छन् । सरोज यही असार २९ गतेबाट दर्शकका लागि फिल्म ‘बगान’ लिएर आउँदैछन् । उनमा उत्साह यसकारण छ कि यो फिल्म उनको ‘डेब्यू’ निर्देशकीय सिर्जना हो । डरको कारण चरित्र अभिनेता नीर शाहलाई निर्देशन गरेका छन् र कथा तथा पात्र अभिनयले फिल्म दर्शकको प्रिय बन्छ भन्ने चाहिँ उनको आत्मविश्वास हो । अहिले सरोजको अनुहारमा डर कम, उत्साह र आत्मविश्वास बढी देखिन्छ ।

नीर शाहसँग डर

सरोज र नीरले झण्डै ७ फिल्ममा सहकार्य गरिसकेका छन् । पर्दामा सरोज अभिनेत्रीसँग रोमान्स गरिरहँदा नीरले कहिले खलपात्र बनेर प्रेममा अवरोध त कहिले चरित्र अभिनेता बनेर प्रेमलाई समर्थन गरे । तर सहकार्य हिसाबले ‘बगान’ नीर र सरोजका लागि भिन्न छ । किनकी यो फिल्ममा सरोजले नीरलाई ‘एक्सन’ र ‘कट’ गरेका छन् ।

फिल्ममा नीरसँगै बसुन्धरा भुषाल, मिथिला शर्माजस्ता दिग्गज कलाकारको पनि अभिनय छ । ‘म उहाँहरुकै फिल्म हेरेर हुर्किएको हुँ । तर बसुन्धरा र मिथिला दिज्युभन्दा बढी डर मलाई नीर राजासँग भयो । उहाँ फिल्म क्षेत्रको अब्बल र योग्य अभिनेता हुनुहुन्छ । उहाँले जुन रेन्जको अभिनय गर्नुहुन्छ, उहाँको अगाडि उभिँदा म नर्भस नै हुन्छु’, हालैको भेटमा सरोज भन्दै थिए, ‘नर्भस के अर्थमा भने फिल्ममा सटको कम्पोज गरिन्छ । त्यो सट मैले कम्पोज गर्दा उहाँको अभिनय बिग्रिन्छ कि भन्ने डर ममा थियो ।’

नीरका पाँच विकल्प

सरोजका अनुसार एकदिन उनी आफैं गाडी लिएर नीरलाई लिन बुढानिलकण्ठ गए । त्यहाँबाट सुटिङस्थल फर्कर्दै गर्दा उनले चरित्र सम्झाए, बुझाए । ‘सुटिङ स्पटमा पुगेपछि नीर राजाले ‘तपाईंले खोजेको चरित्र मैले बुझें । म तपाईंलाई पाँचवटा विकल्प दिन्छु । तपाईंले कुन चाहिँ खोज्नुभएको हो, त्यो भन्नु म क्यारेक्टरमा बसेर म एक्टिङ गर्छु’ भन्नुभयो’, सरोजले सम्झिए, ‘त्यति भनेपछि मलाई अरु के चाहियो । उहाँले विकल्पअनुसार नै अभिनय गर्न थाल्नुभयो । दोस्रो या तेस्रोमा मैले चाहेको त्यो पात्र भेटेँ । उहाँलाई रोकेर ‘मैले भन्न खोजेको यही हो, तपाईंले यसैलाई क्यारी गर्नुहोस्’ भनेपछि उहाँले त्यसैलाई अगाडि बढाउनुभयो ।’

सरोजका अनुसार नीरले हरेक सटमा उनको दिमागको अध्ययन गर्थे । नीरले ‘तिमीलाई चित्त बुझेन फेरी गरौं’ भनेर सम्झाउँथे । तर नीरको अभिनय शैलीमा सरोज भने ढुक्क थिए ।

कथाले बनायो निर्देशक

सरोजलाई निर्देशक बन्नु न बाध्यता थियो, न आवश्यकता नै । ‘तर कुनै कथाहरु अहिले नै भन्नुपर्छ कि जस्तो हुने रहेछन् । मलाई सुनील पोखरेलले स्वप्निल नीरवको पुस्तक पढ्न दिनुभएको थियो । त्यहाँ १८ वटा कथा थिए, तर म ‘बगान’मा लोभिएँ’, सरोज खुल्छन् । यो कथा पढेपछि उनले स्वप्निललाई नै भेटे ।

करिश्माको प्रोत्साहन

सरोजले कोभिड महामारीमा आधारित सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’ निर्देशन गरेका थिए । सुनील पोखरेलको प्रमुख अभिनय रहेको यो फिल्म हेरेकी अभिनेत्री करिश्मा मानन्धर सरोजको कामबाट प्रभावित भएकी रहिछन् । त्यहीकारण करिश्मालाई सरोजले ठूलो फिल्म निर्देशन गर्नेमा विश्वास थियो । ‘उहाँले ‘एउटा फिल्म बनाउँ’ भन्नुभयो । दिमागमा बगानको कथा बसिरहेको बेला करिश्माजीको प्रस्तावलाई मैले स्वीकारें । करिश्माजीले छोरी कवितालाई फिल्ममा अभिनय गराउन चाहेकाले आमाछोरीको कथालाई आधार मानेर स्क्रिप्ट लेखें । करिश्माजीले स्क्रिप्ट पढेपछि ‘ओहो यो चरित्र त कविताले सक्दैन’ भन्नुभयो’, सरोजले सम्झिए । 

अनि जोडिए सुरेश वाग्ले

गीतकार तथा गजलकार सुरेश वाग्ले अमेरिकामा नै बसेर गीत लेखनदेखि भिडियो निर्माणमा व्यस्त थिए । उनलाई पनि सामाजिक कथावस्तुका फिल्ममा लगानी गर्ने चाहना थियो । सरोज नयाँ सोच, सन्देश दिने तथा परिवारले पनि मनपराउने खालको फिल्म बनाउन चाहन्थे । उनले ‘बगान’को स्क्रिप्ट हेरेपछि सुरेश लगानी गर्न राजी भए ।

कलाकार छनोट

स्क्रिप्ट फाइनल भएपछि सरोजले वसुन्धरा भुषाल, मिथिला शर्मा र नीर शाहलाई भेटे । ‘स्क्रिप्ट लेख्दै गर्दा भूमिका अनुसार यी अनुहार दिमागा आइसकेका थिए । उहाँहरुको फिल्म हेरेर हुर्किएको र उहाँहरुसँग सहकार्य गरिसकेकाले पनि कामबारे म जानकार थिएँ’, सरोज भन्छन्, ‘स्क्रिप्ट त लेखें, तर उहाँहरुले ‘म काम गर्दिनँ’ भन्नुभयो भने त मलाई गाह्रो पर्छ । म त पहिलोपटक निर्देशनमा आउँदैछु । तर खुशीको कुरा ‘म फिल्म बनाउदैछु, हजुरहरुले अभिनय गरिदिनुपर्यो’ भन्दा उहाँहरुले ‘मेरो भूमिका के छ ? कति समय लाग्छ र कति पैसा दिन्छौ ?’ भनेर सोध्नुभएन । बरु ‘हामी कहिलेदेखि आउनुपर्यो, हामीलाई खबर गर्नु’ भनेपछि मेरा लागि त्योभन्दा ठूलो गर्वको विषय अरु के हुनसक्थ्यो र !’

प्रमिलाबाट सुटिङ सुरु

यो फिल्मबाट नवकलाकार प्रमिला कार्कीले फिल्मी अभिनयमा डेब्यू गर्दैछिन् । त्यसकारण पनि सरोजले पहिलो प्राथमिकता प्रमिलालाई नै दिए । ‘म्यूजिक भिडियोमा अभिनय गरे पनि प्रमिलाका लागि फिल्म नयाँ थियो । त्यसकारण मैले सुरुको सुटिङ प्रमिलाबाट सुरु गरें । किनभने सबैभन्दा बढी जोखिम प्रमिलामाथि लिएको थिएँ । ऊसँग मेरै केही दृश्य राखें । प्रमिला विस्तारै सहज हँुदै गएपछि आमाछोरीका रुपमा करिश्माजी र प्रमिलाका दृश्यहरु राखें । अनिमात्र मिथिला दिदी, बसु दिदी र नीर राजाको क्यारेक्टर राखियो’, सरोज भन्छन् ।

भुवन केसीको विकल्प सरोज

फिल्मको ट्रेलरमा सरोजलाई पनि देख्न सकिन्छ । सरोज भने आफू बाध्य भएर अभिनय गर्नुपरेको दाबी गर्छन् । सरोजले आफू पर्दामा देखिएको चरित्र अभिनेता भुवन केसीका लागि लेखेका थिए । भुवनले पनि अभिनय गर्ने वचन दिए । तर चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने दौडधुपमा भुवन व्यस्त भएपछि उनले वचन पुरा गर्न सकेनन् । 

‘भुवन दाईको सुटिङ समयको छेकोमा उहाँ विकास बोर्डको अध्यक्षको दौडधुपमा लाग्नुभयो । मैले झण्डै ४ दिनसम्म पर्खिएँ । दाईले ‘म दौडधुपममा व्यस्त भएँ, अरु कसैलाई अभिनय गराउनु’ भन्नुभयो । तर आजको भोलि कोही कलाकार भेटिने सम्भावना थिएन । ५० को उमेर कटेको सभ्य र हिरोजस्तो देखिनुपर्ने भएकाले मैले नै अभिनय गर्ने निर्णय लिएँ’, सरोज खुलाउँछन् ।

आशावादी सरोज

गत वैशाख १ गते रिलिज फिल्म ‘जारी’ पछि कुनै पनि नेपाली फिल्म लामो समयसम्म हलमा टिक्न सकेका छैनन् । यसबारे सरोज जानकार छन् । अहिले उनलाई ‘बगान’लाई हलमा टिकाउने चुनौती र अवसर दुवै छ । सरोज दुवै कुरा स्वीकार्न तम्तयार छन् ।

‘हलमा फिल्म टिकेन भने मलाई डर लाग्छ । यस्तो कथाको फिल्म हलमा टिक्नुपर्छ । हरेक घरमा घटेको घटनालाई कथात्मक रुपमा फिल्ममा उतारेका छौं । यो फिल्म माउथ पब्लिसिटीले चल्छ । जसले यो फिल्म हेर्नुहुन्छ, उहाँले अर्को मान्छे अवश्य पठाउनुहुनेछ’, सरोजको दाबी छ, ‘हाम्रो समाज पितृसत्तात्मक भएकाले यहाँ पुरुषहरुको मात्र मुद्धा उठाइन्छ । वास्तविकतामा पुरुषभन्दा उत्पीडित त महिला हो नि । उनीहरुको मुद्धा किन नउठाउने भनेर बगानमार्फत प्रयास गरेका हौं ।’

फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतको अभिनय रहेको छ ।