दयाहाङको बिषयमा नबोलेको कुरामा गाली आएपछि कानुनी बाटो खोज्दै आँचल
नायक दयाहाङ राइको बिषयमा आँचल शर्माले बोल्दै नबोलेको कुरालाई अनावश्यक रुपमा प्रचार गरिएपछि यसले सामाजिक संजालमा फेरि चर्चा पाएको छ । केही सामाजिक संजालका पेजहरुमा आँचलले दयाहाङ राइको बिषयमा यसो भनिन् भन्दै पोष्ट गरिएको छ । जसलाई आम मानिसहरुले वास्तविक जस्तै वुझेर प्रतिक्रिया दिएका छन् ।
सामाजिक संजालमा आफूले बोल्दै नबोलेको कुराले गाली गलौज आएपछि आँचलले मुख खोलेकी छिन् । उनले, कानुनी कारवाहीको बाटोमा जाने चेतावनी समेत दिएकी छिन् ।
आँचलले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन्–‘गर्दैै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीन दिनदेखि मैले सामाजिक संजालमा अनेक गाली खाइरहेको छु । यस्ता कुरामा धेरै रियाक्ट नगरुँ भन्दा पनि अब म सहनै नसक्ने भएको छु । जसले जसको उक्साहटमा यो सबै गरिरहनुभएको छ, तपाइहरुको समय सकियो । म कानुनी कारबाहीको बाटोमा जान वाध्य भएकी छु । मलाई यातना दिएर सामाजिक संजालमा मेन्टल हेल्थको भाषण दिन कृपयाा बन्द गर्नुहोस् ।’
आँचलले कानुनी बाटोमा जाने बताइरहँदा नायक दयाहाङ राइले पनि यस बिषयमा मुख खोलेका छन् । दयाहाङले सामाजिक संजालमा लेखेका छन्–‘अभिनेत्री आँचल शर्माले दयाहाङ राइलाई त्यसले मात्र मन पराउँछ, जो अशिक्षित र मुर्ख छ भन्दै अन्तरवार्ता दिएको भन्दै सामाजिक संजालमा राखिएको पोष्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । आँचलले अहिलेसम्म मेरो बारो कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र वुझ्दै नवुझी गाली गर्नु दुबै चेतनशील मान्छेले गर्ने कर्म होइनन् । त्यसैले सत्य तथ्य नवुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरु प्रसार नगर्न सबैमा आग्रह गर्दछु ।’
सामाजिक संजालको बढ्दो प्रभावसँगै यसले विशेषगरि, कलाकारलाई समस्यामा पारिरहेको छ । कलाकारहरुले नबोलेका कुरालाई बोल्यो भन्दै अनावश्यक विवाद खडा गर्ने र टिकटकमा कलाकारले बोलेका कुराहरुको सानो टुक्रा राखेर अर्थको अनर्थ लगाउने क्रम बढ्दो छ । यसले, कलाकारहरुलाई मानसिक रुपमा समेत ठूलो असर परिरहेको छ ।
प्रतिक्रिया