मध्यरातमा सुशान्तको फेसबुक लाइभः कसैले साथ नदिएको भन्दै भक्कानिए
डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री मध्यरातमा फेसबुक लाइभमा आए । भारतमा रहेका खत्रीले आफू एक बर्षदेखि डिप्रेशनमा रहेको र अब बाँच्नै नसक्ने अवस्थामा पुगेको बताएपछि उनका शुभचिन्तकहरुको मन अत्तालियो ।
सुशान्तले आफूलाई ६ महिनादेखि निकै गाह्रो भएको उल्लेख गरेका थिए । उनले, आफूलाई साथ दिनेहरु धेरै भएपनि चाहिएको समयमा भने आफूलाई साथ दिने कोही नभएको बताएका थिए ।
उनले फेसबुक लाइभमा भने–‘अब मैले सक्दिनँ । सक्दै सक्दिनँ । जसको धेरै आवश्यकता छ, त्यो समयमा केही पनि नहुने रहेछन् । मैले जहिले पनि मानिसहरुलाई आफू पछाडि बसेर सहयोग गरेँ । आफू गिरेर भएपनि अरुलाई सहयोग गरेँ । तर, अन्तिमममा आफू नै नराम्रो भएँ ।’
उनले, नाम, दाम मात्रै कमाएर नहुने समेत बताए । डिप्रेशन, एन्जाइटीको शिकार भएपछि यी सबैको कुनै अर्थ नरहने समेत सुशान्तले बताएका थिए । उनले, आफूलाई कसैले साथ नदिएको र आफूलाई साथीहरुले पनि साथ छाडेको बताए ।
उनले भने–‘बाबा मम्मी आई एम सरी । मैले जो जसको मन दुखाएको छु, सबैलाई हात जोडेर माफी माग्छु । कति दुख छ छोरालाई थाहा छ ? कति दुख छ यो सुशान्तलाई थाहा छ । कसैलाई थाहा छैन । एक बर्षदेखि साहारा मागिरहेको छु, साहारा दिने कोही पनि छैन । ठिक हुन्छ कि भनेर भारत पनि आएँ । तर, दिमाग त जहाँ गएपनि एउटै हुँदोरहेछ । दिमाग नै चल्दैन ।’ सुशान्तले फेसबुक लाइभमा औषधीको पत्ता समेत देखाएका थिए । औषधीको पत्ता देखाउँदै आफूले कुनै पनि समय गलत निर्णय लिन सक्ने उनले बताए ।
सुशान्तले फेसबुक लाइभमा आउनु अगाडि नायक सारुक ताम्राकार जस्ता कलाकारलाई गुमाएको र अर्को एक कलाकारलाई पनि गुमाउन सक्ने बताएका थिए ।
प्रतिक्रिया