चेक रिपब्लिकको वल्र्ड प्रिमियरमा ‘गुराँस’को तारिफ
चेक रिपब्लिकमा चलिरहेको दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर भएको नेपाली फिल्म ‘गुराँस’ले उपस्थित दर्शकबाट तारिफ पाएको छ । फिल्म लिएर चेक पुगेका निर्देशक सौरभ राईले फिल्म हेर्ने दर्शक हाउसफुल रहेको र फिल्म हेर्न दर्शकले रुचाएको बताएका छन् ।
‘दर्शक पनि टन्नै थियो र फिल्म हेरेर धेरैले इमोसनल भएको प्रतिक्रिया दिनु भयो । यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो । यसले हामीलाई सन्तुष्ट बनाएको छ,’ उनले भने ।
फिल्म चेकको समयअनुसार बुधबार ४ बजे स्क्रिनिङ भएको थियो । यही फिल्मको वल्र्ड प्रिमियरमा सहभागी हुन मेनुका प्रधान पनि चेक पुगेकी थिइन् । उनले अन्तर्राष्ट्रिय फेस्टिभलमा आफ्नो यो पहिलो अनुभव हुने बताउँदै फेस्टिभलमा धेरैभन्दा धेरै फिल्म हेर्ने योजना रहेको बताएकी थिइन् ।
हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको फिल्मले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । फिल्मले दुई पुस्ताका चरित्रमार्फत छोरी र आमाबुबाको फरक फरक चिन्तालाई पनि उजागर गर्ने कोशिस गरेको छ ।
‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ ।
फिल्मको प्राविधिक काम मुम्बईमा गरिएको थियो । फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि काम गरेकी छिन् ।
प्रतिक्रिया