उषापछि बोलिन् गरिमा–‘हो, ‘विचौलिया’का कारण हामी पारिश्रमिकको शोषणामा पर्यौं’


म्युजिक भिडियो क्षेत्रमा नाम चलेका कलाकारहरुले ‘विचौलिया’का कारण पारिश्रमिकमा चर्को शोषण हुने गरेको बताउन थालेका छन् । भिडियो बजारमा ‘विचौलिया’ हाबी हुँदा कलाकारहरुले पाउनु पर्ने जति पारिश्रमिक नपाएको, निर्माताले दिएको पुरै रकम कलाकारहरुको हातमा नपुगेको गुनासो बढिरहेको छ । 

केही दिन अगाडि मोडल उषा उप्रेतीले ‘विचौलिया’का कारण आफूहरुले पाउनुपर्ने जति पारिश्रमिक नपाएको बताएकी थिइन् । अब, अर्की चर्चित मोडल गरिमा शर्माले पनि उषाको कुरामा समर्थन गर्दै बजारमा एउटा रेटको हल्ला चलाएर आफूहरुलाई थोरै पारिश्रमिक दिने गरेको खुलाएकी छिन् ।

गरिमाले मेरो फिल्मसँग भनिन्–‘सबैभन्दा पहिले त यो बिषयमा बोल्नु भएकोमा उषाजीलाई धन्यवाद दिन चाहन्छु । अहिले भिडियोको बजारमा कलाकारहरु पारिश्रमिकको चर्को शोषणमा परेका छन् । अधिकांशले बजारमा गरिमा शर्मा महंगी छ भनेर भन्दा रहेछन् । तर, मैले त्यती चर्को पारिश्रमिक पनि लिएको थिइनँ । वुझ्दै जाँदा त निर्मातासँग एउटा रकम लिएर हामीलाई अर्को रकम दिइदोरहेछ ।’

उनले, अरुको पसिनाको मुल्य खाएर कोही पनि मान्छे माथि जान नसक्ने बताइन् । गरिमाले भनिन्–‘सिधै निर्मातासँग कुरा भयो भने हामीले आफ्नो काम अनुसारको पारिश्रमिक पाउँछौं । तर, बिचमा कुरा गर्ने अरु कोही व्यक्ति छन् भने हाम्रो पारिश्रमिक पुरा नआउने रहेछ ।’

गरिमाका अनुसार, अहिले म्युजिक भिडियो बजारमा यस्तो अवस्था विकराल छ । यस्तो गुनासो नाम चलेका मोडलहरुले मात्र होइन, निर्देशकहरुले समेत गर्न थालेका छन् । अहिले निर्मातको सुरुवातमा भेट जुन व्यक्तिसँग हुन्छ, जुन व्यक्तिले प्रोजेक्टको जिम्मा लिन्छ, उसैले निर्देशक, कलाकारसँग कुराकानी गर्ने गरेका छन् । जसकाकारण, निर्मातासँग एउटा पैसा लिएर निर्देशक, कलाकारहरुलाई निकै कम पारिश्रमिक दिने र आफूले ठूलै रकम कमाउने अवस्था बढ्दो छ ।