बाबु आमालाई पार्टीमा आउँछु भनेका सारुकले अचानक किन रोजे आत्महत्याको बाटो ?
बिहिबार बेलुकी ४ बजेसम्म फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेका नायक सारुक ताम्राकार सबैसँग खुशीका साथ बिदा भएर घर पुगेका थिए । बेलुकी उनका माता पिता एउटा पार्टीमा पुगेका थिए । सारुकले पनि आफू पार्टीमा आउने जानकारी बाबु–आमालाई गराएका थिए ।
रातो पुलमा रहेको निवासमा उनी आफ्ना बुबा–आमासँग बस्दै आएका थिए । फिल्म ‘ह्यासट्याग माया’का प्रोडक्शन डिजाइनर अरुण रेग्मीले भने–‘बेलुकी सबैसँग राम्रोसँग छुटेका थिए । फिल्मको छायांकनमा पनि निकै राम्रोसँग काम गरिरहेका थिए । तर, अचानक राती यस्तो निर्णय लिएछन् । हामी आफै छाँगाबाट खसे जस्तो भएका छौँ ।’
सारुकले बिहिबार बेलुकी ९ बजेपछि आत्महत्या गरेको हुनसक्ने अरुणले बताए । उनले भने–‘घरको सिडीमा पासो लगाएर आत्महत्या गरेका हुन् । उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।’
सारुक ताम्राकारले फिल्म ‘इन्टु मिन्टु लण्डनमा, रानी, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका थिए । हाल उनी नायिका नम्रता श्रेष्ठसँग ‘ह्यासट्याग माया’मा काम गरिरहेका थिए । अरुणका अनुसार, फिल्मको छायांकन करिब ४० प्रतिशत मात्र सकिएको छ । ३१ बर्षको उमेरमा सारुकले आत्महत्या गरेका हुन् ।
प्रतिक्रिया